सूचनाको शक्ति - The Power Of Information

        

अनुगमनको भत्ता कटौती गरी कृषिमा लगानी गर्दै खजुरा

बाँके । बाँकेको खजुरा गाउँपालिकाले अनुगमनको भत्ता कटौती गरी कृषिमा लगानी गर्ने भएको छ । गाउँपालिकाको सातौँ गाउँसभामा वडा नं २ का अध्यक्ष देवीलाल खनालले अनुगमनको भत्ता कटौती गर्न राखेको प्रस्ताव सभाबाट पारित भई उक्त रकम कृषिमा लगानी गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाले अगाडि सारेको कृषिबाटै आर्थिक समृद्धिको अभियानलाई सहयोगी हुनेछ । अब पाँच लाख रुपैयाँसम्मका योजनाको अनुगमन वडाध्यक्षको संयोजकत्वमा गरिने भएको छ । यहाँको वडा नं २ र ३ मा व्यावसायिकरूपमा तरकारी खेती हुँदै आएको छ । गाउँपालिकाले अनुगमनको भत्ता कटौती गरी कृषिमा लगानी गर्ने गरेको निर्णय कृषकको पक्षमा रहेको वडा नं २ निवासी अगुवा कृषक लालबहादुर खत्रीले बताए ।

गाउँपालिकाले किसानलाई मल, बीउ, सिँचाइको व्यवस्था गर्दै उत्पादित कृषि उपजलाई स्थायी बजारीकरणको व्यवस्था गर्न सके गाउँपालिका कृषिमा आत्मनिर्भर बन्ने कृषक खत्रीको भनाइ छ । गाउँपालिका अध्यक्ष कक्षपतिले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा थप नयाँ कार्यक्रमसहित बजेटमा प्राथमिकता दिइने बताए । गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को बजेट संशोधनसहित पारित भएको छ ।

गाउँपालिकाको सातौँ गाउँसभाले ७६ करोड ३६ लाख ७३ हजार ४८७ रुपैयाँको बजेट पारित गरेको छ । गाउँपालिका अध्यक्ष कक्षपतिले निर्वाचनको बेला मतदातासामु गरिएका १०१ बुँदे घोषणामध्ये ६५ बुँदा पूरा भएको र अन्य कार्यान्वयनको दिशामा रहेको बताए । चालू आर्थिक वर्षमा कोरोना महामारीका कारण धेरै काम रोकिएको उनको भनाइ थियो । ‘कोरोना महामारी सङ्क्रमण रोकथामका लागि चार महिना व्यतित भयो, त्यसैले कयौँ योजना पूरा हुन पाएका छैनन्,’ अध्यक्ष कक्षपतिले भने ।

प्रकाशित मिति : २८ असार २०७७, आइतवार ११:५१