सूचनाको शक्ति - The Power Of Information

        

बबई नदीले बगाउँदा थारु दम्पती बेपत्ता

बर्दिया । बर्दियाको बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका ४ का एक दम्पती बेपत्ता भएका छन् । बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका ४ बगनाहा गाउँका ३२ वर्षीय जीतबहादुर थारु र उनकी श्रीमती २६ वर्षीया राजकुमारी थारु बेपत्ता भएको बर्दिया प्रहरीले जनाएको छ ।

बबई नदी किनारमा रहेको दाउरा सङ्कलन गरेर फर्कने क्रममा नदीको बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बबई नदीको खैलार बनकट्टी घाट नजिक शनिबार बिहान उनीहरु बगेर बेपत्ता भएका हुन् । ती दम्पती नदीमा बगेको बाख्रा चराइरहेका एक जनाले देखेपछि आफूहरुलाई खबर गरेको बर्दिया प्रहरीले जनाएको छ । बबई नदीमा बगेर बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी, जनप्रतिनिधि, स्थानीयबासीन्दाले खोजी गरिरहेका छन् ।

प्रकाशित मिति : २८ असार २०७७, आइतवार १०:३९