सूचनाको शक्ति - The Power Of Information

        

‘सामान्य वर्षामै पहिरोको जोखिम’

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले वर्षाका कारण नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा डुबान हुने भन्दै सतर्क रहन आग्रह गरेको छ । वर्षाका कारण सडक तथा हवाई यातायात सेवासमेत प्रभावित हुने भन्दै आवश्यक सतर्कता अपनाउन विभागले सबैसमक्ष आग्रह गरेको छ ।

‘प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशमा तुलनात्मक रुपमा बढी वर्षाको सम्भावना रहेकोे छ । यी प्रदेशमा अझै धेरै सतर्क रहनुपर्ने हुन्छ,’ मौसमविद् राजु प्रधानाङ्ग भन्छन्, ‘यो वर्ष धेरै पहिरो नै गइरहेको छ । निरन्तरको वर्षाले माटो गलिसकको हुँदा अब पहिरो जानलाई ठूलो पानी पर्नुपर्दैन, सामान्य वर्षामै पहिरोको जोखिम छ, त्यसैले पनि सचेत हुन आवश्यक छ ।’

प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हुँदा नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने विभागले जनाएको छ ।

आज दिनभर देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज पनि विहानैदेखि काठमाडौं उपत्यकामा मौसममा बदली आएको छ भने हल्का वर्षा भइरहेको छ । उनले अझै तीन चार दिन निरन्तर वर्षा हुने मौसमविद् प्रधानाङ्गले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २८ असार २०७७, आइतवार ०९:१२