सूचनाको शक्ति - The Power Of Information

        

भारतीय सुपरस्टार अमिताभलाई कोरोना संक्रमण

बाँके । भारतीय सिने जगतका चर्चित अभिनेता अमिताभ वच्चनलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अमिताभ आफैँले शनिबार राति आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

उनले आफू कोरोना भाइरस संक्रमित भएको पुष्टि भएपछि अस्पतालमा आइसोलेसनमा बसेको जानकारी आफ्ना शुभेच्छुकहरुलाई गराएका छन् । उनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनले आफ्नो परिवारका अन्य सदस्य र आफूसँग काम गर्नेहरुको पनि कोरोना भाइरस परीक्षण भएको र नतिजा पर्खिरहेको जानकारी पनि गराएका छन् । उनले पछिल्लो दस दिनमा आफूसँग भेटेकाहरुलाई पनि संक्रमणको परीक्षण गर्न आग्रह गरेका छन् । ७७ वर्षीय यी भारतीय सुपरस्टारले पछिल्लो ५० वर्षमा सयौँ सिनेमाहरुमा काम गरिसकेका छन् ।

ऐश्वर्या र जयाको रिपोर्ट आउन बाँकी

बलिउड चलचित्र उद्योगको ‘पावर हाउस’ परिवारका रुपमा परिचित बच्चन परिवारका दुई सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा संक्रमण देखिएपछि दुवैलाई संक्रमण देखिए लगत्तै मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ । संक्रमणको आशंकामा जया बच्चन र ऐश्वर्या राय बच्चनको पनि परीक्षण भएको छ ।

उनीहरुको रिपोर्ट भने आएको छैन । जया र ऐश्वर्याको रिपोर्ट आइतबार आउने महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेले समाचार संस्था एएनआईलाई जनाएका छन् । जया र ऐश्वर्याको आकस्मिकरुपमा गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको भए पनि पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको र सो नआउँदासम्म केही भन्न नसकिने उनले बताएका छन् । अमिताभले ट्वीट गरेर आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका थिए ।

उनले पछिल्लो १० दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई आफ्नो परीक्षण गराउन पनि आग्रह गरेका छन् । त्यसपछि उनका छोरा अभिषेक बच्चनले पनि आफूमा संक्रमण देखिएको बताएका थिए । ७७ वर्षका अभिताभलाई कोरोना भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन । अमिताभ र अभिषेकलाई कोरोना भाइरसको संक्रमण भएको खबर आएपछि बलिउडका धेरै कलाकारहरुले उनीहरुको स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०७७, आइतवार ०८:३९