सूचनाको शक्ति - The Power Of Information

        

हावाबाट कसरी फैलिन्छ कोरोना ?

फाइल तस्वीर

दिल्ली । विश्व स्वास्थ संगठन डब्लूएचओले कोरोना भाइरस ‘कोभिड १९’को संक्रमण सतहको सम्पर्कमा आउँदा मात्र हुन्छ भनेको थियो । सोही कारण डब्लूएचओले यसबाट बच्न मुख्यगरी हात धुन सल्लाह दिएको थियो ।

तर यतिबेला डब्लूएचओ आफैंले कोरोना भाइरस हावाबाट फैलन्छ भन्ने दाबीलाई नजरअन्दाज गर्न नसकिने बताइरहेको छ । यसको मतलब डब्लूएचओले कोरोना हावबाट फैलन्छ भन्ने तथ्यलाई स्वीकारेको छ । डब्लूएचओले यसबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

हावाबाट पनि कोरोना फैलन्छ भनेर युनिभर्सिटी अफ कोलोराडोका वैज्ञानिकसहित विभिन्न ३० भन्दा बढी मुलुकका २ सयभन्दा बढी वैज्ञानिकले अनुसन्धानमा पत्ता लगाएका हुन् । उनीहरुले नै डब्लूएचओलाई यस तथ्यबारे चिठी लेखेर जानकारी प्रदान गरेका थिए । कोरोना हावबाट फैलन्छ भन्ने खबर विश्वभर सम्प्रेषण भएपछि मानिसहरु त्रसित बनेका छन् ।

हावाबाट कोरोना फैलनुको मतलब ?

हावाबाट संक्रमण त्यतिबेला हुन्छ जब सास फेर्दा ब्याक्टेरिया र भाइरस हाम्रो शरीरमा प्रवेश गर्दछ । ब्याक्टेरिया र भाइरस सुक्ष्म कणको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार यदी वैज्ञानिकहरुको दाबी सत्य भए भीड–भाडमा हुँदा हावाबाट कोरोनाको संक्रमण हुनसक्छ ।

कोरोना कति समयसम्म हावामा जीवित रहन्छ ?

वैज्ञानिकहरुले गरेको अध्ययनअनुसार कोरोना भाइरस हावामा तीन घण्टासम्म जीवित रहनसक्छ । विज्ञहरुले कृत्रिम रुपमा कोरोना भाइरसलाई हावामा छाडेका थिए । उक्त अनुसन्धानमा उनीहरुले भाइरस ३ घण्टासम्म बाँचेको तथ्य पत्ता लगाए ।

कोरोना भाइरस विश्वभर तिब्र गतिमा फैलिएपछि वैज्ञानिकहरुले यो हावाको माध्यमबाट सर्छ कि सर्दैन भनेर अनुसन्धान गरेका थिए । बीबीसीका अनुसार अमेरिकाको वासिङटनको माउन्ट वर्ननमा एक मानिसले हावाको माध्यमबाट कम्तिमा ४५ जनामा कोरोना संक्रमण गराएको आशंका गरिएको छ । उनी एक गायक मण्डलीका सदस्य भएको बताइएको छ ।

जनवरी महिनाको अन्तिममा ग्वान्झाओमा पनि यस्तै मामिला सार्वजनिक भएको थियो । त्यसबेला एक व्यक्तिले ९ जनामा कोरोना संक्रमण गराएको आशंका गरिएको थियो । उनीहरु सबैलै एकै रेस्टुरेन्टमा खाना खाएका थिए । ६ मिटर टाढा बसेको मानिसमा पनि कोरोना देखिएपछि हावाबाट पनि कोरोना संक्रमण हुन्छ भन्ने आशंका गरिएको थियो ।

अब हामीले के गर्नुपर्छ ?

डब्लूएचओको हालको गाइडलाइन अनुसार कोरोनाबाट जोगिन मनतातो पानीले २० सेकेन्डसम्म हात धुनुपर्छ । यससँगै व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना गर्नुपर्छ । ६ फिट टाढैबाट कुराकानी गर्ने बानी गर्नुपर्ने बताइएको छ । यद्यपी हालै वैज्ञानिकहरुले डब्लूएचओको पहिलेको उपाय अब परिवर्तन हुनुपर्ने बताएका छन् ।

डब्लूएचओले हालसम्म कोरोना भाइरस हावाबाट फैलन्छ भन्ने तथ्यलाई पुरा रुपमा पुष्टि गरिसकेको छैन । डब्लूएचओले वैज्ञानिको दाबीलाई नजरअन्दाज गर्न नुहने बताउँदै यस विषयमा अनुसन्धान जारी राखेको छ । यद्यपी डब्लूएचओले कोरोना हावाबाट फैलनसक्ने आशंका गर्दै यस विषयमा गम्भीर बन्नुपर्ने बताएको छ ।

तत्काललाई व्यक्ति–व्यक्तिबीचको दुरीको नियम र हात धुने कार्यलाई राम्रोसँग कार्यान्वयन गर्न भनिएको छ । डब्लूएचओ गाइडलाइन्स परिवर्तनको विषय अनुसन्धान पुरा भएपछि पुनर्विचार गरिने जनाएको छ । बीबीसी हिन्दी

प्रकाशित मिति : २७ असार २०७७, शनिबार १७:१२