सूचनाको शक्ति - The Power Of Information

        

वित्तिय सहकारीका संस्थापक अध्यक्ष चौधरी पक्राउ

बाँके । ४५ करोड रकम हिनामिना गरेको आरोप लागेका सहकारी वित्तिय विकास संस्था लिमिटेड नेपालगन्जका सञ्चालक समितिका संस्थापक अध्यक्ष हरदेवबक्स चौधरीलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । उनी सहकारीको रकम हिनामिना प्रकरणपछि फरार रहेको थिए ।

सहकारी र सहकारीका पदाधिकारीसंग बयान लिने क्रम चलिरहेको अवस्थामा पनि प्रहरीले उनलाई खोजीरहेको थियो । प्रहरीको खोजी सूचीमा रहेका संस्थापक अध्यक्ष चौधरी अहिले नेपालगन्जमै रहेको विशेष सुराकीको आधारमा प्रहरीले शनिबार विहान पक्राउ गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए ।

उनका अनुसार पक्राउ परेका सहकारीका संस्थापक अध्यक्ष चौधरीलाई बाँके प्रहरीले आफ्नो नियन्त्रणमा राखि उनीमाथि प्रारम्भिक अनुसान्धान थालेको छ । उक्त रकम हिनामिना घटनामा आरोपित मध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । कतिपयका विरुद्ध मुद्दा दायर भइसकेको छ तर, फरार रहेका संस्थापक अध्यक्ष चौधरी शनिबार पक्राउ परेको र उनीमाथि अनुसन्धान भइरहेको छ ।

अनुसन्धानबाट दोषी ठहरिए चौधरीविरुद्ध पनि कानूनी प्रकृया अघि बढाइने प्रहरी बताँउछ । यसअघि संस्थाका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिइसकेको छ । उनीहरु कारागारमा सजाय भोगिरहेका छन् । जिल्ला अदालत बाँकेका न्यायाधीश धनिश्वर पौडेलको ईजलाशले सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गङ्गाधर सुवेदी, बैंङिक प्रबन्धक अरुणकुमार पाठक र सहउपसहायक बलराम यादवलाई थुनामा राख्न आदेश दिएको थियो ।

अभियुक्तद्वय लेखा समिति सदस्य स्थिरमणी बज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही २० लाख धरौटी मागिएको थियो । बज्राचार्य २० लाख नगद धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधअन्तर्गत अभियोग पत्र दायर भएको थियो । कतिपय अभियुक्त अझै फरार रहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना बताउँछन् ।

उनका अनुसार फरार रहेका अन्य व्यक्तिको पनि खोजी भइरहेको छ । उनीहरु भेटिएलगत्तै कारबाहीका लागि कानूनी प्रकृया अघि बढाइनेछ । सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयर धनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारबाहीको माग गर्दै जाहेरी दिएका थिए ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार १६:०६