सूचनाको शक्ति - The Power Of Information

        

बर्दिया निकुञ्जको खाता करिडोरमा ‘ओभरहेड ब्रिज’

बर्दिया । वन्यजन्तुको सहज आवागमनका लागि बर्दियाको खाता ‘करिडोर’ संरक्षण क्षेत्रको हुलाकी सडक खण्डमा ओभरहेड ब्रिज बन्ने भएको छ । वन्यजन्तु आवागमनका लागि ‘ओभरहेड ब्रिज’ बन्न लागेको पालको सम्भवत यो पहिलो योजना हो । गौमुखी इन्जिनियरिङ सर्भिस प्रालि ललितपुरले ‘ओभरहेड ब्रिज’को डिपिआर तयार गरेको छ ।

प्रदेश नम्बर ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय बर्दियाको आर्थिक सहयोगमा ‘एनिमल क्रसिङ ओभरहेड ब्रिज’ योजनाको डिपिआर तयार भइसकेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । ‘ओभरहेड ब्रिज’ निमार्णका लागि करिब ९ करोड रुपैयाँ लाग्ने बताइएको छ ।

योजनाको वातावरण प्रभाव मूल्यांकन भएलगत्तै आर्थिक २०७७/०७८ देखि निर्माण कार्य सुरु हुने डिभिजन वन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लेले बताए । वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि प्रदेश ५ को यो नयाँ योजना रहेको बताइएको छ । हुलाकी सडकको झण्डै २ किलोमिटर क्षेत्र खाता करिडोरमा पर्छ । जसमध्ये करिब साढे ५०० मिटर सडक क्षेत्रमा वन्यजन्तुको आवतजावत बढी हुने गर्छ ।

खाता करिडोर क्षेत्र वन्यजन्तुका लागि निकै महत्वपूर्ण मानिन्छ । यसले बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनियाघाट वन्यजन्तु संरक्षण क्षेत्रलाई जोड्ने गर्छ । खाता करिडोर भएर हात्ती, गैँडा, बाघ लगायत संरक्षित वन्यजन्तु नियमित रुपमा नेपाल–भारत आवतजावत गर्ने गर्छन् । खाता करिडोर क्षेत्र संरक्षणका दृष्टिकोणले दक्षिण एसियाकै निकै महत्वपूर्ण जैविक मार्ग मानिन्छ ।

यसको महत्व र संरक्षणलाई ध्यानमा राखेर नेपाल सरकारले सन् २०१२ मा यो क्षेत्रसँग जोडिएका वन क्षेत्रलाई खाता संरक्षित वन घोषण गरेको थियो । नेपालमा वन्यजन्तु ओहोरदोहोरका लागि अन्डरपास ब्रिज निर्माण भएका छन्। तर यो ओभरहेड ब्रिज नेपालकै पहिलो प्रयास भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख वाग्लेले बताए ।

वन्यजन्तुलाई पुलको अनुभव नहुने गरी यसको संरचना तयार पारिने बताइएको छ । पुलको माथि रुख, विरुवा तथा झाडीहरू रोपिनेछ । जसले गर्दा वन्यजन्तुले जंगलमै हिँडेको महसुस गर्नेछन् । उक्त ओभरहेड ब्रिज निर्माण पश्चात् वन्यजन्तु दुर्घटनामा पर्नबाट जोगिने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार १२:११