सूचनाको शक्ति - The Power Of Information

        

ठाकुरद्वारामा धार्मिक वनको जग्गा अतिक्रमण हटाइँदै

बर्दिया । वर्षौंदेखि स्थानीयले कब्जा गर्दै आएको बर्दियाको ठाकुरद्वारा क्षेत्रको धार्मिक वनको जग्गा अतिक्रमण हटाउन सुरु गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने ठाकुरद्वारा मन्दिर नजिक रहेको यस वन वर्षौंदेखि अतिक्रमणमा परेको छ ।

निकुञ्ज प्रशासनले उक्त अतिक्रमित बस्ती हटाउन स्थानीयलाई नियन्त्रणमा लिन थालेपछि विवाद उत्पन्न भएको छ । ठाकुरबाबा नगरपालिका ९ बजारको मन्दिर नजिक रहेको धार्मिक वनको अतिक्रमित बस्ती हटाउन भन्दै स्थानीयलाई नियन्त्रणमा लिन गएका निकुञ्ज कर्मचारी र स्थानीयवासीबीच बिहीबार बिहान सामान्य झडपसमेत भएको थियो ।

बिहानै बस्ती हटाउन निकुञ्जको टोली पुगेपछि स्थानीय विरोधमा उत्रिएका हुन्। अतिक्रमित बस्ती हटाउन भन्दै सुतिरहेको अवस्थामा बिहानै स्थानीयलाई पक्राउ गर्न गएको बर्दिया निकुञ्जको टोली र स्थानीयबीच विवाद सुरु भएको हो । स्थानीय र निकुञ्जको टोलीबीच अहिले पनि विवाद जारी रहेको वडाध्यक्ष राधा चौधरीले बताइन् ।

निकुञ्जका कर्मचारीले हरेक दिन बस्तीका स्थानीयलाई पक्राउ गरी निकुञ्ज लैजाने र कागजमा सही गराउन थालेको र आज पनि दुई जनालाई पक्राउ गरी लैजान खोजेपछि स्थानीय विरोधमा उत्रिएका उनले बताइन् । निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने धार्मिक वनको जग्गा अतिक्रमण गरी बसेका ५४ वटा घर टहरा हटाउने प्रक्रिया सुरु गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

मन्दिर परिसर नजिक मध्यवर्ती क्षेत्रमा बसोबास गरिरहेका केही स्थानीयले सूचना टाँस गरी निश्चित दिन तोकेर हट्न भन्नुपर्ने जनाएका छन्। केहीले आफूहरू वर्षौंदेखि बस्दै आएकाले नहट्ने अडान लिएका छन् । धेरैपटक सूचना दिई अतिक्रमित बस्ती हटाएर उक्त क्षेत्र खाली गर्न अनुरोध गरिएको थियो । निकुञ्जको अतिक्रमित बस्ती हटाउन कर्मचारी खटाइएको र तत्काल बस्ती खाली गराउने उप्रमुख संरक्षण अधिकृत बरालले बताए । निकुञ्ज र स्थानीय बासिन्दाबीच अहिले वार्ताको तयारी भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार १२:०३