बाँके । नेपालगन्ज उपमहानगरपालिकाले एकीकृत सम्पत्ति करमा १५ प्रतिशत कम गरेको छ । नगरप्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा असार १० गतेदेखि जारी सातौं नगरसभामा बिहिवार उपप्रमुख उमा थापा मगरले एकीकृत सम्पत्ति करमा कटौती गर्ने प्रस्ताव गर्नुभएको हो ।
उपप्रमुख मगरले यसअघि प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/०७८ को विनियोजित बजेट परिमार्जन गर्दै एक अर्ब ४९ करोड ४२ लाख १७ हजार ५१० रुपैयाँको संशोधित वजेट प्रस्तुत गरिन् । बजेटमा नगरका २३ वटा वडालाई २१ करोड रुपैयाँ विनियोजन गरिएको छ । वडाबाट संकलन भएको राजश्वको १५ प्रतिशत सम्वद्ध वडालाई बाँडफाँड गरिएको छ ।
वडाको जनसंख्याको आधारमा समेत बजेट सिलिङ गरिएको छ । यसरी बजेट सिलिङ अनुसार वडा नम्बर १८ लाई सबैभन्दा बढि एक करोड ४३ लाख रुपैयाँ र सबैभन्दा कम वजेट सिलिङ्ग पाउने वडाले कम्तिमा ५४ लाख रुपैयाँ प्राप्त गरेका छन् । नगरसभामा नगर प्रमुख डा.राणाले सन्तुलित ढंगले वडामा वजेटको सिलिङ तयार गरिएको जानकारी दिए ।
‘बजेट कनिका छरेजस्तो गरि वडामा काम नगर्नुहोला,’ नगर प्रमुख राणाले वडाका जनप्रतिनिधिहरुलाई भने, ‘देखिने गरि ठुला काम गर्नुहोस् ।’ ठुला योजनाले वजेटको सहि सदुपयोग हुने उनको भनाई थियो । नगरसभाले बजेटको सिलिङलाई सर्वसम्मत पारित गरेको छ । असार ३० गते बस्ने बैठकले वडाबाट आउने योजनासहित बजेट पारित गर्ने भएको छ ।
सत्यपाटी ।