जुम्ला । जुम्लामा सञ्चालन भएका पशु अस्पताल तथा पशु सेवा कार्यालयले आर्थिक वर्ष २०७६÷०७७ का १७ वटा साना व्यवसायीक आयोजानाका काम सम्पन्न गरेको छ । १९ मध्ये १७ वटा योजना सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । आफ्नो कार्यक्षेत्रमा चालु आवमा व्यवसायीक कार्यक्रम सञ्चालन गरेको हो । सञ्चालित योजनामध्ये १७ कार्यक्रम सम्पन्न भइसकेको र बाँकी सम्पन्न हुने चरणमा रहेको कार्यालय प्रमुख गोविन्द महतले बताए ।
उनका अनुसार चालु आर्थिक वर्षमा संचालन भएका कार्यक्रम ग्रामीण कुखुरापालन अन्तरगत सात र भैसीपालन एक, रोड करिडोर कुखुरा पकेट अन्तरगत दुई, भेडाबाख्रा पकेट एक, मत्स्य पकेट एक, खरायो पकेट एक, डेरी पसल निर्माण सुधार एक र जिल्लाको हिमा गाउँपालिका–२ मा एक करोडको अनुदानमा भेडा श्रोत केन्द स्थापना कार्यक्रम र तातोपानी–५ मा २ लाख अनुदानमा प्राङ्गारिक कृषि आयोजनाको काम सञ्चालन गरिएको छ ।
कार्यक्रम सञ्चालनका लागि कार्यालयले चालु आर्थिक वर्षमा रु तीन करोड ५० लाख रकम विनियोजन गरेकोमा त्यसमध्ये सबैभन्दा धेरै भेडा श्रोत केन्द्र स्थापनाका लागी रु एक करोड अनुदान बजेट विनियोजना गरेको कार्यालय प्रमुख महतले बताए । त्यस्तै ट्राउट माछापालन अन्तरगत रु २५ लाख, पशुबध स्थाल निर्माण २० लाख अनुदान बजेट विनियोजन भएको कार्यालयले जनाएको छ । कर्णाली प्रदेश सरकार अन्तरगत सञ्चालनमा आएको कार्यालयले किसानलाई व्यावसायिक पशुपालनतर्फ अग्रसर बनाउने अभियान शुरु गरेको छ ।
विजय रावत ।