सूचनाको शक्ति - The Power Of Information

        

सांसद ‘नमूना’को सक्रियतामा नरैनापुरमा सर्पदंश उपचार केन्द्र

बाँके । कोरोना संक्रमणले प्रभावित बनेको नरैनापुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आउने भएको छ । नरैनापुरस्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आउन लागेको हो । सर्पदंशका बिरामीहरुको उपचार गर्ने गरी स्वास्थ्य केन्द्रमा बुधबार नै आवश्यक मेडिकल साम्रगीहरु नरैनापुर पुर्याइएको छ ।

सोही क्षेत्रबाट निर्वाचित प्रदेश ५ की सांसद कृष्णा केसी ‘नमूना’को पहलमा पहिलो पटक नरैनापुरमै सर्पदंशका बिरामीहरुको उपचार शुरु हुँदैछ । सर्पदंशका बिरामीहरुको उपचारका लागि चाहिने आवश्यक मेडिकल साम्रगी बुधबार सांसद नमूनाले बुटवलबाट ल्याएर स्वास्थ्य केन्द्रलाई बुझाएकी छन् ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयबाट उक्त साम्रगीहरु ल्याएर नरैनापुरको स्वास्थ्य केन्द्रसम्म पुर्याएकी हुन् । ‘एन्टीस्नेक भेनम’ औषधीबाहेक उपचारका लागि चाहिने अन्य मेडिकल सामग्रीहरु स्वास्थ्य केन्द्रमा पुर्याइएको छ । एन्टीस्नेक भेनम औषधी नेपालगन्जस्थित भेरी अस्पतालबाट आवश्यकता अनुसार ल्याउने व्यवस्था मिलाइएको छ ।

सर्पले टोक्दा समयमै उपचार नपाएर यहाँका नागरिकले वर्षेनी अकालमा नै ज्यान गुमाउँदै आएका छन् । ‘गत वर्ष वर्षातको समयमा सर्पले टोकेका केही नागरिकलाई उपचार अभावमा बचाउन सकिएन,’ सांसद नमूनाले भन्नुभयो, ‘अब कसैले उपचार अभावमा ज्यान गुमाउन नपरोस् भनेर प्रदेश सरकारसँगको सहकार्यमा सर्पदंश उपचार केन्द्र बनाउन लागिएको हो ।’

वर्षात् शुरु भइसकेकाले अब सर्पले टोकेका बिरामीहरु आउने भएकाले केही दिनमा नै मेसिनहरु जोडेर उपचार शुरु गरिने उनले जानकारी दिइन् । ‘प्रदेश सरकारले सर्पदंश उपचारको लागि डाक्टरहरुलाई तालिमसमेत दिइसकेको छ,’ उनले भनिन्, ‘तालिम बुधबार सकिएकाले बिहीबारबाट स्वास्थ्यकर्मीहरु पुगेर मेसिन जडान लगायतका तयारी गर्नुहुनेछ ।’

स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार गर्नको लागि आवश्यक पर्ने मनिटर, अक्सिजन सिलिण्डर, औषधी लगायतका ९ वटा विभिन्न मेडिकल सामग्रीहरु सांसद नमूनाले बुटवलबाट सिधैं नरैनापुर पुर्याएकी हुन् । नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले सर्पदंशका बिरामीहरुको उपचार शुरु हुन लागेकोमा खुशी व्यक्त गरिन् ।


‘मैले विगतदेखि नै सांसद नमूनालाई सर्पदंश उपचार केन्द्रको लागि पहल गरिदिन आग्रह गरेको थिए,’ उनले खुशी हुँदै भने, ‘उहाँको प्रयास तथा पहलमा नै अब सर्पले टोकेका बिरामीहरुले यही उपचार पाउनेछन् ।’ यसको लागि आवश्यक पर्ने अन्य सहयोग गर्न गाउँपालिका तयार रहेको उनले बताए ।

‘चाँडो उपचार नपाउँदा सर्पदंशका बिरामीहरुले अकालमा ज्यान गुमाउनुपर्दथ्यौ,’ अध्यक्ष शाहले भने, ‘सांसद नमूनाले आफै आवश्यक सामग्री लिएर नरैनापुर आउँदा हामी खुशी छौं ।’ प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना हुने सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटरबाहेकका अन्य सबै सेवाहरु उपलब्ध हुने डा.सागर पन्तले जानकारी दिए ।

केही साताअघि स्वास्थ्य केन्द्रमा चिकित्सकको रुपमा पुगेका उनले सर्पदंश उपचारका लागि तालिम लिइसकेका छन् । डा.पन्तको अगुवाईमा नै सर्पदंशका बिरामीको उपचार हुनेछ भने गम्भीर खालका बिरामीलाई नेपालगन्जस्थित भेरी अस्पतालमा पठाइने व्यवस्था मिलाइएको छ । यहाँका नागरिकलाई सर्पदंशको उपचार गर्न भेरी अस्पतालमै पुग्नुपर्ने बाध्यता छ ।

वर्षात्को समयमा नेपालगन्ज पुग्न समय लाग्ने भएकाले नागरिकको ज्यान जान थालेपछि नरैनापुरमै छिट्टै सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइने सांसद नमूनाले बताए । ‘आवश्यक पर्ने अन्य मेडिकल साम्रगीहरु अझै आउन बाँकी छ,’ उनले भने, ‘तत्काल सेवा शुरु गर्नुपर्ने भएकाले केही साम्रगीहरु ल्याइएको हो । अन्य साम्रगीहरु क्रमश ल्याइनेछ ।’

गर्मी याममा प्राय सडकमा हिँड्दा, खेतबारीमा काम गर्दा, सुतेका बेला र दिसापिसाब गएका बेला सर्पले डस्ने गरेको स्थानीयहरु बताउँछन् । तराई क्षेत्रमा गोमन र करेतजस्ता अति विषालु सर्पको विगविगी हुने गरेको छ । गत वर्षमात्रै नरैनापुरमा सर्पदंशको समयमा नै उपचार नपाउँदा चार जनाले मृत्यु भएको थियो ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार १३:०८