बाँके । भारतको कानपुरमा आठ प्रहरीको हत्याका मुख्य अभियुक्त विकाश दुबेलाई मध्य प्रदेशको उज्जैनबाट पक्राउ गरिएको बीबीसी हिन्दीले जानकारी दिएको छ । उज्जैनको महाकाल मन्दिरबाट विकास दुबेलाई पक्राउ गरिएको बताइएको छ ।
विकास दुबे महाकाल मन्दिरमा पुगेको सूचना कुनै स्रोतले दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो । भारतीय समाचारमाध्यम दैनिक भास्करका अनुसार महाकाल मन्दिरको सुरक्षा समूहले उनलाई संदिग्ध ठानेर पक्राउ गरेको थियो । त्यसपछि महाकाल थानाले प्रहरीलाई सूचना दिए ।
यद्यपि, विकास महाकाल मन्दिर परिसरमा पुगेर आफू विकास दुबे हुँ भन्दै चिच्याएको पनि केहीले बताएका छन् । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले विकास मध्यप्रदेशको हिरासतमा भएको जानकारी दिँदै उनलाई कसरी पक्राउ गरियो भन्नेबारे केही जानकारी दिनु ठिक नभएको बताए ।
प्रहरीले उनीमाथि पाँच लाख भारु इनामसमेत तोकेको थियो । उत्तर प्रदेश प्रहरीको समूहले उनलाई पछिल्लो ६ दिनदेखि खोजिरहेको थियो । उनलाई नेपाल प्रवेश गरेको आशंकामा भारतीय प्रहरीको एक टोली नेपालगन्ज आएर उनलाई पक्राउ गर्न बाँके प्रहरीसँग सहयोगसमेत माग गरेको थियो । बुधबार डीएसपीको नेतृत्वमा भारतीय प्रहरी नेपालगन्ज आएको थियो ।
सत्यपाटी ।