बाँके । भारतको उत्तर प्रदेशका माफिया विकास दुवेलाई खोज्दै नेपालगन्ज आएको भारतीय प्रहरी फर्किएको छ । एक हप्तादेखि फरार रहेका उत्तर प्रदेशको कानपुरका दुवे नेपाल छिरेको आशंकामा उनको खोजी गर्दै नेपालगन्ज आइपुगेको भारतीय प्रहरीको टोली रित्तै फर्किएको हो ।
उनीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि उनको समूहले आक्रमण गरी आठ जना भारतीय प्रहरीको हत्या गरेको थियो । सो घटनापछि प्रहरीले दुवेमाथि पाँच लाख भारतीय रुपैयाँ पुस्कार घोषणा गरेर खोजी कार्य गरिरहेको छ । भारतीय प्रहरी नेपालगन्ज आएको बताउँदै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले भने, ‘सीमावर्ती क्षेत्रमा लुकेको छ की भनेर भारतीय प्रहरी यहाँ आएको हो, नभेटिएपछि फर्कियो ।’
सीमा क्षेत्रमा अपराधीको खोजीका लागि दुबै देशका प्रहरीबीच सहयोग आदानप्रदान हुँदै आएको छ । विगत आठ दिनदेखि फरार रहेका दुवेको खोजी भइरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । भारतको कानपुरमा आठ जना प्रहरीको हत्या गरेर फरार रहेका दुवे घटनापछि नेपालगन्ज नाकातिर प्रवेश गरेको आशंका गर्दै भारतीय प्रहरीको एक टोली नेपालगन्ज आएर उनलाई पक्राउ गर्न बाँके प्रहरीसँग सहयोग माग गरेको थियो ।
बुधबार डीएसपीको नेतृत्वमा भारतीय प्रहरी नेपालगन्ज आएको थियो । धेरै मुद्दा लागेका दुवेलाई पक्राउ गर्न गएका आठ जना प्रहरीको हत्या गरिएको थियो । खुल्ला सीमाको फाइदा उठाउदै नेपालगन्ज आसपासमा आएर लुकेको हुन सक्ने आशंका गरेर भारतीय प्रहरी नेपालगन्ज आइपुगेको हो । प्रहरी उपरीक्षक रानाले मस्ट वान्टेड विकास दुवे नाकातिर लुकेको हुन सक्ने भन्दै भारतीय प्रहरीले उसलाई पक्राउ गर्नमा सहयोग माग गरेको जानकारी दिए ।
कानपुर घटना लगत्तैदेखि बाँके प्रहरीले नाकामा कडाइ गरिरहेको छ । त्यसका बाबजुद भारतबाट डीएसपीको कमाण्डमा टोली आएर ‘स्मरण’ गराएको छ । खुल्ला सीमानाका कारण नेपालमा अपराध गरेर भारतमा तथा भारतमा अपराध गरेर नेपालमा आएर अपराधीहरु लुक्ने गरेको पाइन्छ । नेपाल र भारतका सीमावर्ती अधिकारीहरुले कतिपय अपराधीलाई पक्राउ गरेर एक अर्कालाई बुझाउने गर्दछन् ।
सीमावर्ती अधिकारीहरुबीच नियमित हुने बैठकमा सीमा अपराधका बारेमा चर्चा हुने गर्दछ । बैठकमा मस्ट वान्टेडको फोटो साटासाट हुने गर्दछ । भारतीय प्रहरीले मस्ट वान्टेड दुवे पनि नेपालगन्ज नाकाबाट नेपाल प्रवेश गरेर नाका आसपासमा लुकेका आशंका गरेका छन् । लकडाउन भएपनि भारतबाट नेपाल आउने सकिने व्यवस्था गरिएको छ । भारतका विभिन्न शहरमा काम गर्न पुगेका नेपालीहरु दैनिक फर्किनै रहेका छन् । त्यही हुलमुलमा दुवे पनि नेपाल प्रवेश गरेका आशंका गरिएको हुनसक्छ ।
सत्यपाटी ।