सूचनाको शक्ति - The Power Of Information

        

नहरमा डुबेर बालिका बेपत्ता

कञ्चनपुर । अविरल वर्षाले कञ्चनपुरको भीमदत्त नगर बजार र आसपासको क्षेत्र डुबानमा परेको छ । ढल व्यवस्थापनको अभाव र पानीको निकास नहुँदा भीमदत्त नगरपालिका–१८ बागबानी, १५ निम्बुखेडा, जानकी टोल, सालघारी, गोवरिया बजारको सब्जीमण्डी, भीमदत्त नगरपालिका–६ ऐठपुरको राजमार्ग क्षेत्रका केही घर डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले पानीको निकास नहुँदा केही घर डुबानमा परेका छन् । यसैबीच भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनार बुधबार साँझ नहरमा डुबेर बेपत्ता भएकी छन् । नहरमा पौडी खेल्ने क्रममा नेहा डुबेर बेपत्ता भएकी हुन् ।

नहरमा पानीको बहाव उच्च हुँदा पौडिने क्रममै डुबेको स्थानीय बासिन्दाले बताएका छन् । बालिका नहरमा डुबेको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खोजबिनका लागि खटाइएको प्रहरी प्रवक्ता थापाले बताए । नहरमा पानीको बहाव उच्च भएकाले खोजबिनका लागि गाह्रो भएको उनले बताए । खोजी जारी रहे पनि बालिका अहिलेसम्म फेला पर्न सकेकी छैनन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार १०:०३