चिरञ्जीवी ढकाल
१.
अचम्मैको चिज रहेछ, सत्ता हजुर ।
वरिपरि सँधै विद्रोही, जत्था हजुर ।
निक्कै गाह्रो पर्दोरहेछ, बिर्सनलाई,
खाइपाइ आ’को रसिलो, भत्ता हजुर ।
छोई खानु छैन पदमा, पुगेको मान्छे,
भइ हाल्यो हात्तीझैँ, अनमत्ता हजुर ।
जतिसुकै अपराध गरोस्, नेता चोखो
दागले बिग्रने केवल, लत्ता हजुर ।
गणतन्त्रमा खेल्ने, हकदार नि उनै,
जनता सदैव तासको, पत्ता हजुर ।
२.
समय घर्की नै राछ, आसमात्रै छ अगाडि ।
समस्या चर्किदै गा’छ, सासमात्रै छ अगाडि ।
खेलाडीले खेल फिक्सिङ, गरी सक्छन् नखेल्दै,
दर्शक भुलाउन त्यो, तासमात्रै छ अगाडि ।
समृद्धि ल्याउने चाहना, थियो त्यो शालिकको,
समृद्धिको बाटोभरी, लासमात्रै छ अगाडि ।
सुन्दर नेपाल चाहेको हो, उस्को रगतले,
तर बाटोमा सँधै, विनासमात्रै छ अगाडि ।
अल्छी तिग्रो हुनेलाई, हड्डी भए पुग्ने रै छ,
उनको चाहनामा सँधै, दासमात्रै छ अगाडि ।
३.
नसोचेको हुँदो रैछ, सत्ताको खेलमा ।
भ्रष्ट उन्मुक्त हुन्छ, सज्जन जेलमा ।
भोट चाँहिदा जन्ता, जितेपछि आफन्त,
पाटो छुट्टी हाल्छ, पानी, पिना र तेलमा ।
ढुकुटीमात्रै होइन, देश नै सकिन्छ,
सबै बली चढ्छ, राजनीतिको झेलमा।
टाठाबाठा आसेपासे, मात्रै मालामाल,
निमुखा जनता सँधै, आँसुको भेलमा ।
नदी नाला कारखाना, बेचेर सकिन्छ,
काम खोज्न जनता, जहाज र रेलमा ।
नागरिकताको गरिमा, बुझिदैन भने,
के फरक भो डाक्टर र स्कुल फेलमा ?
४.
सत्ता पायो कि आफुमात्रै, टाँसिनुपर्ने ।
साथी भने जीवनभर, आसिनुपर्ने ।
कतिसम्म दम्भ र घमण्ड बढ्छ ओ हो !
यिनका लागि सीमासमेत, तासिनुपर्ने?
गर्नसम्म गाली गर्यो, घाँटी सुक्नेगरी,
अक्कर पर्दा चोचोमोचो, गाँसिनपर्ने ?
यता सरिताहरु, जननीभन्दा ठूला,
उता सीता आरोपित भै, भासिनुपर्ने ?
राष्ट्र र जनताको, कहिल्यै भलो नगर्ने,
यस्ता भ्रष्टको त, बीउ नै मासिनुपर्ने ।
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके
चिरञ्जीवी ढकाल ।