सूचनाको शक्ति - The Power Of Information

        

रुकुममा प्रहरीबाटै निर्घात कुटिइन् महिला

रुकुम । कर्णाली प्रदेशको रुकुम पश्चिम आठविसकोट नगरपालिकामा प्रहरीबाट एक महिला निर्घातरुपमा कुटिएकी छन् । जिल्ला बाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दुर्व्यहार गरेको आरोपमा महिलामाथि कुटपिट भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार घटना १ जेठको हो । अहिले घटनाबारे भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ । केसीका अनुसार महिला कुटपिटमा संलग्न एक जना हवल्दार दुर्घटनामा घाइते भएर प्रहरी अस्पतालमा उपचाररत छन् ।

अन्य दुई जना प्रहरी जवानलाई जिल्लामा तानेर आन्तरिक छानविन थालिएको छ । आठविसकोट नगरपालिकाको नगर प्रहरीमा कार्यरत प्रहरी जवान निर्मला विकले पटकपटक ती महिलालाई लाठी हानेको भिडियोमा देखिन्छ ।

भिडियो सार्वजनिक भएपछि विकलाई निलम्बन गरेर छानविन थालिएको नगर प्रमुख गोर्खबहादुर केसीले बताए । उनले भने, ‘त्यतिवेलाको परिस्थिति जस्तो सुकै भए पनि भिडियो हेर्दा आचरण विपरित कार्य भएको देखिन्छ, दोषी ठहरिए कानून अनुसार कारबाही हुन्छ ।’

मेयर भन्छन्, महिलाले हातपात गरेपछि घटना भयो

कुटपिटको घटना नगरपालिकासँगै जोडिएको नगर प्रहरी कार्यालयको भान्सा अगाडि भएको हो । डीएसपी केसीका अनुसार हेल्प डेस्कमा मदिरा सेवन गरेर होहल्ला गरेपछि प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । त्यसक्रममा उनले प्रहरीलाई हातपात गरेको केसीको भनाइ छ ।

नगरपालिकाका मेयर केसीका अनुसार त्यसवेला उनी अर्धनग्न अवस्थामा थिइन् । ‘झोलुंगे पुलमा ड्युटीमा बसेको प्रहरीमाथि हातपात भयो, त्यसवेला पुरुष प्रहरीले उनलाई पक्राउ गर्ने कुरा भएन,’ उनले सुनाए, ‘बजारमा एक जना महिलाले उहाँलाई कपडा लगाइदिनु भयो र नगर प्रहरीमा महिला भएकाले बोलाएर नियन्त्रणमा लिन खोजिएको रहेछ ।’

डीएसपी केसी मदिरा सेवन गरेकाले शान्त हुन्छ कि भनेर भान्सामा लगेर उनलाई पानी खन्याइदिएको पाइएको बताउँछन् । मेयरका अनुसार इलाका प्रहरी कार्यालय, आठविसकोटमा महिला प्रहरी छैनन् । अहिले पीडित महिलालाई पनि सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ ।

 

 

#अनलाइनखबर

प्रकाशित मिति : २४ असार २०७७, बुधबार १५:०५