सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश–५ : तीन महिनामा १४४ किसानसहित ३१३ जनाले गरे आत्महत्या

सांकेतिक तस्वीर

सांकेतिक तस्वीर

बाँके । प्रदेश ५ मा आत्महत्याको दर डरलाग्दो देखिएको छ । प्रदेश ५ मा लकडाउन (चैत ११) सुरु भएदेखि जेठ मसान्तसम्म ३१३ जनाले आत्महत्या गरेका छन् । प्रदेश ५ प्रहरी कार्यालय, तुलसीपुरका अनुसार चैतमा ६९, वैशाखमा ११७, र जेठमा १२७ वटा आत्महत्याका घटना भएका छन् ।

आत्महत्या गर्नेमा किसान धेरै छन् । गरिबी र अभावको कारण तीन महिनामा १४४ जना किसानले आत्महत्या गरेका हुन् । यसमध्ये चैतमा ३९, वैशाखमा ४४ र जेठमा ६१ जना छन् । त्यस्तै गृहिणी ४३ जना, मजदुर ४३, विद्यार्थी २९, वैदेशिक रोजगारबाट आएका ६ जनाले पनि आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेश ५ प्रहरी कार्यालय, दाङका प्रवक्ता तथा प्रहरी उपरीक्षक राजकुमार बैदवारले पारिवारिक कलह, गरिबी र मनोसामाजिक समस्याले मानिसहरू आत्महत्या गरेको देखिने बताए । प्रहरी उपरीक्षक बैदवारले भने, ‘आत्महत्या गर्नेमा बढी युवा छन् । उनीहरु १६ देखि २५ वर्ष उमेर समूहका छन् ।’

तीन महिनामा १६ देखि २५ वर्ष उमेर समूहका ९१ जनाले युवाले आफ्नो ज्यान आफै लिएका छन् । १६ वर्षमुनिका २६ जना, २६ देखि ३५ वर्ष उमेर समूहका ८९ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका ५२ जना, ४६ देखि ६० वर्ष उमेर समूहका २८ जना र उमेर नखुलेको १ जना छन् ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलवार ०८:५६