सूचनाको शक्ति - The Power Of Information

        

सावधान ! घर बाहिर निस्किँदा मास्क लगाउनुस्, नत्र कारबाहीमा परिन्छ

काठमाडौं । तपाई मास्क नलगाई घर बाहिर निस्कनुभयो ? सावधान अब कारबाहीमा परिन्छ । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई मास्क नलगाई हिड्नेलाई कारबाही गर्न निर्देशन दिएसँगै प्रहरी प्रधान कार्यालयले पनि मातहतका सबै प्रहरी कार्यालयलाई सोही अनुसार निर्देशन दिएको छ । सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो । मन्त्रालयले सोमवार ७७ वटै जिल्लामा लागू गर्नेगरी मास्क नलगाउनेलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।

असार १ गते लकडाउन खुकुलो बनाउने नीति लिएसँगै मास्क, स्यानिटाइजर तथा अन्य सुरक्षाका उपाय अवलम्बन गर्न निर्देशन दिएको थियो । त्यसयता सडक र बजार, कलकारखानामा मास्क र सेनिटाइजर प्रयोगसँगै सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ । सरकारले असार १ गतेदेखि सरकारी कार्यालय तथा व्यापार व्यवसाय खुला गरेको छ ।

सोमबार दिउँसो प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव केदारनाथ शर्माले जानकारी दिए । तर नागरिकले स्वास्थ्यका सामान्य नियम पनि पालना नगरेको पाइएकाले सो निर्देशन दिइएको प्रवक्ता शर्माले जानकारी दिए ।

विद्यालय तथा सार्वजनिक यातायात खुलाइएको छैन । लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्वन गरिए पनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन गृहले निर्देशन दिएको प्रवक्ता शर्माले बताए ।

‘स्वास्थ्य मापदण्ड पालना नगर्दा राजधानी नै संक्रमणको उच्च जोखिममा रहेको देखिएकोले गृहको निर्देशन र परिपत्र सरकारी, गैरसरकारी र निजी क्षेत्र तथा स्वयं सर्वसाधारणलाई कडाइका साथ लागू गर्न प्रशासन र प्रहरीलाई परिपत्र गरेका हौं,’ उनले भने, ‘निर्देशन उल्लंघन गर्नेलाई पक्राउ र जरिवानासम्मको कारबाही हुन्छ ।’ यद्यपी शहरी क्षेत्र तथा अन्य क्षेत्रमा पनि भीड बाक्लिंदै गएको छ । भीडभाड बढ्दै जाँदा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै मन्त्रालयले अनिवार्य कामबाहेक अन्य अवस्थामा बाहिर ननिस्किन पनि आह्वान गरेको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार १८:४८