सूचनाको शक्ति - The Power Of Information

        

मारिएको बाघ बाँके निकुञ्जकै हो ? निकुञ्जका वार्डेन भन्छन्, ‘भेरिफाई गर्दैछौं’

छाला र हड्डी पक्राउपछि निकुञ्जमाथि प्रश्न

बाँके । बाघको छाला र हड्डीसहित गएको शनिकार राप्तीसोनारी गाउँपालिका–१ तितिनघारीका नवराज घर्ती मगरलाई पक्राउ परे । ४६ बर्षिय नवराजलाई बाघको छाला एक थान र १० किलो ५०० ग्राम हड्डीसहित नेपाल प्रहरीको ५ नं. प्रदेश ब्युरो दाङ र इलाका प्रहरी कार्यालय कुसुमबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको थियो ।

उनलाई पक्राउ गरेपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेले भोलिपल्ट प्रेस विज्ञप्ती जारी गर्दै घटनाको बारेमा जानकारी दियो । प्रहरीका अनुसार उक्त घटनामा संलग्न प्रकाश आचार्य र नरे घर्ती फरार छन् । बरामद गरिएको छाला र हड्डी प्रकाश आचार्यसमेतले बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रको बाघलाई गोली हानी मारिएको भन्ने बुझिन आएको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेको छाला र हड्डी प्रकाशले नवराजलाई दिएको र उनले उक्त छाला र हड्डी असार १९ गते आफ्नो मकैबारीमा लुकाएर राखेका थिए । बाघको छाला रहेको जानकारी पाएपछि राप्तीसोनारी–१ गाभरका नरे घर्तीले रु.२४ लाखमा बाघको छाला र हड्डी विक्री गराइदिने भन्दै कुरा गरेर अन्य ग्राहकको खोजीमा लागेका थिए ।

प्रहरीले बाघको छाला र हड्डी खरीद विक्री भइरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरेपछि मारिएको सो बाघ निकुञ्जको हो या अन्यत्रैबाट मारेर ल्याइएको हो भन्नेमा निक्र्यौल हुन सकेको छैन । बाघको नमूना परिक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको छ । यद्यपी बाघ बाँके निकुञ्जकै भएको प्रारम्भीक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रकाश आचार्य र नरे घर्ती पर रहेको र उनीहरूको खोजी भइरहेको छ । नवराजले दिएको प्रारम्भीक बयान अनुसार बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रको पाटेबाघलाई गोली हानी मारिएको हो । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले उक्त छाला बाँके राष्ट्रिय निकुञ्जको बाघको भएको बताएका छन् ।

बाघ निकुञ्जबाट सामुदायिक वनमा गएका बेला मारिएको प्रहरीको अनुमान छ । बाँके निकुञ्जमा २१ पाटेबाघ रहेका छन् । मारिएको बाघ बाँके निकुञ्जकै भएको पुष्टि भएमा बाँकेको संख्या घटेर २० हुनेछ । बाघको छाला पक्राउ परेपछि अहिले बाँके निकुञ्ज प्रशासन र निकुञ्जको सुरक्षा संयन्त्रमाथि स्थानीयहरुले प्रश्न उठाएका छन् ।

दैनिकजसो सुरक्षा गस्ती, पेट्रोलिङ्ग गरिरहेको दावी गर्दै आएको निकुञ्ज प्रशासनको फितलो अनुगमन, मध्यवर्ती क्षेत्रका स्थानीयहरुसँग समन्वय नहुनु र चोरी सिकार नियन्त्रण युवा समूहहरु निष्क्रिय हुनुले पनि चोरी सिकार गर्नेहरुको मनोवल बढेको राप्तीसोनारी गाउँपालिका–१ का स्थानीयबासी सन्तोष वलीको भनाई छ ।

उनका अनुसार पछिल्लो समयमा निकुञ्ज प्रशासनले मध्यवर्ती क्षेत्रका स्थानीय र चोरी सिकार नियन्त्रण युवा समूहहरुसँग समन्वय नहुनुको फाइदा तस्कारहरुलाई पुगेको छ । यदी निकुञ्जकै बाघ मारिएको पुष्टि भएमा अहिलेका वार्डेन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाका प्रमूखमाथि गम्भीर प्रश्न उठ्न सक्ने देखिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमूख संरक्षण अधिकृत प्रमोद भट्टराईले निकुञ्ज क्षेत्रमा बाटको छाला पक्राउ परेपछि नमूना परिक्षणका लागि केन्द्रमा पठाएको बताए । उनले भने, ‘हामीसँग बाघ कति छन्, कुन क्षेत्रमा छन् भन्ने रेकर्डेड छ । यहाँ भएका बाघको फोटोसहित हामीले केन्द्रमा पठाएका छौं । बाघ निकुञ्जको हो कि होइन भनेर भेरिफाइ गर्न पठाएपछि मात्रै थाहा हुन्छ ।’

स्थानीयबासी वलीले भने, ‘हामीले बाघ नै नभएको निकुञ्जमा १२ बर्षको अवधिमा २१ वटा बाघको संख्या पुर्याएका छौं, यो निकुञ्ज र सुरक्षाकर्मी एक्लैले सम्भव छैन । निकुञ्जले पछिल्लो समयमा मध्यवर्ती क्षेत्र र चोरी सिकार नियन्त्रणका लागि गठन भएका विभिन्न समुहहरुलाई प्रभावकारीरुपमा परिचालन गर्न सकेको छैन ।’

एक बर्षदेखि चोरी सिकार नियन्त्रणका क्षेत्रमा निकुञ्जको भूमिका प्रभावहिन रहेको अर्का स्थानीय लालबहादुर खड्काले बताए । उनले भने, ‘कुसुम क्षेत्रमा अन्यत्रको बाघ मारिने कुनै सम्भावना छैन । यहाँ भारतीय क्षेत्रको बाघ आउन सम्भव पनि छैन । अस्ती पक्राउ परेको छाला बाँके निकुञ्जकै बाघको हुनुपर्छ ।’

राप्तीसोनारी–८ ढकेरीका एकजना स्थानीयले नाम नबताउने सर्तमा भने, ‘निकुञ्जका कर्मचारीहरुमा जागिरे मानसिकतामात्रै हावी भएको देखिन्छ । जागिर खाने र तलब बुझ्ने मानसिकताका कारण निकुञ्जमा बाघ संरक्षण चुनौतिपूर्ण देखिन्छ ।’ उनले पछिल्लो एक वर्षयता निकुञ्ज र स्थानीयबीच सुमधुर सम्बन्ध नहुनुको परिमाण देखिन थालेको बताए ।

बाघको सङ्ख्या वृद्धिको तुलनामा यो घटनाले बाँके निकुञ्जमा बाघ संरक्षण थप चुनौतिपूर्ण देखिएको छ । निकुञ्जको भूमिका प्रभावकारी नहुँदा चुनौति बढेको मध्यवर्ती क्षेत्रका स्थानीयहरुको आरोप छ । मानवीय चाप, अतिक्रमण र मिचाहा झारले बाघको बासस्थान घटिरहेका बेला तस्करी हुनु गम्भीर विषय भएको उनीहरु बताउँछन् ।

निकुञ्जले चोरी शिकारी अन्त्य गरी बाघको सङ्ख्यामा वृद्धि गर्न सफल भएको दावी गरिरहँदा निकुञ्ज क्षेत्रमै बाघको छाला र हड्डीसहित स्थानीय व्यक्ति नै पक्राउ पर्नुलाई सामान्य हिसाबमा लिन नहुने राप्तीसोनारी–२, कचनापुरका दिनेश वली बताउँछन् । ‘निकुञ्जमा बाघको आहारा वृद्धि गर्ने चुनौति आइरहेकै बेला तस्करी हुनु सामान्य विषयमा होइन,’ उनले भने ।

उनले निकुञ्जले मध्यवर्ती क्षेत्रका स्थानीय, संरक्षणकर्मीहरुलाई साथमै लिएर दीर्घकालिन योजना बनाएर बाघको आहारा हुने जनावरको संख्या वृद्धिसँगै संरक्षणका लागि समवेदनशील बन्नुपर्ने बताए । वलीले भने, ‘निकुञ्जकै कर्मचारी जागिरे मानसिकताभन्दा माथि उठ्न नसक्दा आगामी दिनमा बाघको संख्या बढ्नुको साटो घट्ने निश्चित छ ।’

कुल ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको ७० प्रतिशतभन्दा बढी क्षेत्रफल चुरे क्षेत्र पर्छ भने बाँकी समथल क्षेत्र पर्छ । निकुञ्ज क्षेत्रमा घाँसे मैदानको कमी छ । बाघलगायत जनावरका लागि पिउने पानीको मुहानको कमी छ । प्रतिबाघ १५ देखि ४० वर्ग किलोमिटर क्षेत्रफल चाहिन्छ । यो हिसाबमा बाघका लागि आहार तथा पिउने पानीको स्रोत अपर्याप्त छ ।

बाघको आहारा प्रजातिको संरक्षणसँगै बासस्थान सुधारका लागि दीर्घकालिन योजना जरुरी रहेको संरक्षणकर्मीहरू बताउँछन् । बाघको आहाराका लागि वर्षमा १४ देखि ४० किलोसम्मका सरदर ५० वटा वन्यजन्तु आवश्यक पर्छ । बाघको आहाराका रुपमा रहने मृग, हरिण, चित्तल, जरायो, बँदेलजस्ता वन्यजन्तुको सङ्ख्या पनि सोहीअनुसार वृद्धि गर्नुपर्ने देखिन्छ ।

निकुञ्जभित्र पानी र आहाराको कमी हुँदा निकुञ्जका बाघ मानव बस्तीमा प्रवेश गर्न सक्ने खतरा बढ्छ । जङ्गलमा सहजै शिकार नपाउँदा बाघ जङ्गलबाट बाहिर आउने र मानिस तथा घरपालुवा जनावरलाई आक्रमण गर्न सक्ने खतरा रहने भएकाले मानव–वन्यजन्तु द्वन्द्वसँगै तस्करीको चुनौति पनि उत्तिकै बढ्ने संरक्षणकर्मीहरु बताउँछन् ।

संरक्षणकर्मीहरुका अनुसार पारिस्थितिक प्रणाली (इकोसिस्टम)मा बाघ महत्वपूर्ण रहेकाले त्यसको संरक्षणमा आहारा प्रजातिका वन्यजन्तुको संरक्षण जरुरी छ । ‘बाघ संरक्षणमा थुप्रै चुनौती छन्,’ उनीहरु भन्छन्, ‘बासस्थानको खण्डीकरण, सङ्कुचन, मानव र बाघबीचको द्वन्द्व, चोरी शिकारी, अवैध व्यापार जस्ता चुनौती एकातिर छन् भने यसको आहारा प्रजातिमा आएको कमी अर्को चुनौती हो ।’

प्रकाशित मिति : २२ असार २०७७, सोमबार १३:४६