सूचनाको शक्ति - The Power Of Information

        

१४ किलोमिटर जीपको यात्रा, भाडा ८०० रुपैयाँ !

फाइल तस्वीर

फाइल तस्वीर

डोल्पा । डोल्पामा जीप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । जिल्लामा आन्तरिकरुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीले सदरमुकाम दुनै आवतजावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफू खुशी भाडा असुल्न थालेका हुन् । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीदेखि सदरमुकाम दुनैसम्म जम्मा १४ किमी मात्रै छ तर जीप भाडा भने सर्वसाधारणको ढाड सेक्नेछ ।

लकडाउनको मौका छोपी जीप व्यवसायीले चर्को भाडा असुल्न थालेपछि आर्थिक वर्षको मसान्तमा विकास योजनाको भुक्तानी लिनेदेखि जिल्ला अस्पतालमा उपचारका लागि आउने सर्वसाधारण ठूलो मर्कामा परेका छन् । कोरोना भाइरसका कारण देशको अर्थतन्त्र धरापमा परेर सबै ठाउँमा आर्थिक सङ्कट भएको अवस्थामा दुनै–सुपानी, सुपानी–दुनै, दुनै–जुफाल र जुफाल–दुनै सडकखण्डमा जीप व्यवसायीले नागरिकको ढाड सेक्ने गरी भाडा असुलेको यात्रुको गुनासो छ ।

सिंहदरबार गाउँगाउँमा भने पनि धेरैजसो कामका लागि सदरमुकामनै धाउनुपर्ने अवस्था नहटेको सर्वसाधारण बताउँछन् । ‘दुनै आउन जान गरेर भाडामात्रै रु एक हजार ६०० तिर्नुपर्ने बाध्यता छ, अरु खाना खाजासहित जोडेर रु तीन हजार खर्च हुन्छ,’ त्रिपुरासुन्दरी–१ का भरुन सार्कीले गुनासो गरे । तराईका जिल्लामा १५० किलोमिटरसम्म यात्रा गर्न मिल्ने पैसा डोल्पामा आजभोलि १४ किमीमा तिर्नुपर्ने बाध्यता रहेको सार्कीले बताए ।

यता जिल्ला प्रशासन कार्यालय डोल्पाले जीपमा पनि सामाजिक दूरी कायम गर्दै तीन जनासम्म नागरिक बोक्न पाउने व्यवस्था गरेको छ तर यातायात व्यवसायीले प्रशासनको नियमलाई उल्लङ्घन गर्दै छ जनासम्म यात्रु ओसार्दै आएका छन् । सामान्य अवस्थामा जस्तै छ जनासम्म यात्रु बोके पनि लकडाउनको कारण देखाउँदै भाडा भने प्रतिव्यक्ति रु ८०० लिने गरेको दुनै आउँदै गरेका यात्रु रमेश परियारले गुनासो गरे ।

लकडाउन हुनुभन्दा अगाडिसम्म छ जना मान्छे बोक्न पाउने र भाडादर प्रतिव्यक्ति रु ३५० कायम गरिए पनि आजभोलि आफूखुशी भाडा उठाउने गरेको उनले बताए । ‘डोल्पाका जीप व्यवसायीलाई नियम कानून केही नलाग्ने रहेछ, ट्राफिकले नियमन गर्न खोज्दा पनि उल्टै जाइलाग्ने गरेको देखेँ,’ उनले भने । मनपरी भाडा असुल्ने जीप व्यवसायीलाई स्थानीय प्रशासनले नियमन नगर्दा यस्तो समस्या आएको उनको भनाइ छ ।

ट्राफिक हैरान

डोल्पाका जीप चालकको गलत व्यवहारले सबै हैरान भएका छन् । उनीहरुले नियम विपरीत आफूखुशी जीप सञ्चालन गर्ने र कारवाही गर्न खोज्दा उल्टै जाइलाग्न थालेपछि ट्राफिक प्रहरीलाई नियमन गर्न हम्मेहम्मे भएको हो । ‘डोल्पामा काम गर्न धेरै गाह्रो छ, नियमानुसार डोल्पामा गाडी चलाउनै मिल्दैन, फेरि यहाँ रातो प्लेटले पनि धमाधम मान्छे ओसारी रहेका छन्,’ ड्युटीमा खटिएका एक ट्राफिकले गुनासो गरे ।

उनले व्यावहारिकरूपमा गाडी चल्न दिइएको बताउँदै भने, ‘तर पनि सुरक्षित भएर सरोकारवालाले कायम गरेको भाडा उठाउनु भनेर सम्झाउँदा पनि उल्टै चालक जाइलाग्ने गर्दछन् ।’ गलत गर्ने चालक र गाडीलाई कारवाही गर्न खोज्दा जनप्रतिनिधिलाई फोन गर्न लगाएर दबाब दिने गरेकोे उनको भनाइ छ । यता प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले महँगो गाडी भाडा लिएको विषयमा छलफल गर्ने बताए ।

कर्मचारीले गर्दा भाडा महँगियो

डोल्पामा कर्मचारीका कारण गाडी भाडादर महँगिदै गएको सर्वसाधारणले बताएका छन् । कर्मचारीले रिजर्भ गर्दा गाडीवालाले भनेअनुसारको मूल्य पाउने भएकाले सर्वसाधारण मर्कामा परेको बताइएको छ । सर्वसाधारणले निश्चित भाडामात्रै तिर्न तयार हुने भएकाले गाडीवाला सर्वसाधारणभन्दा कर्मचारी बोक्न तयार हुने नागरिकको गुनासो छ । एउटै कर्मचारीले रु चारदेखि–पाँच हजारसम्म तिरेर रिजर्भ गर्दै आएको जीप व्यवसायी बताउँछन् ।

प्रशासन र स्थानीय सरकार मौन

सर्वसाधारण महँगो भाडाको चरम मारमा परिरहँदासमेत स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले कुनै चासो देखाएका छैनन् । नियमन गर्ने जिम्मेवारी प्राप्त स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय डोल्पाले चासो नदिएपछि यातायात व्यवसायीले पनि मनपरी जीप भाडा असुल्न थालेका हुन् ।

चर्को भाडादरको मारमा सर्वसाधारण पर्दासमेत सडकले जोडिएका त्रिपुरासुन्दरी नगरपालिका, ठूलीभेरी नगरपालिका र स्थानीय प्रशासनले भाडादर नियन्त्रणका लागि भरपर्दो कदम नचालेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए । भाडादरका विषयमा पटकपटक निर्णय गर्ने गरे पनि लामो समय कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । रासस

प्रकाशित मिति : २२ असार २०७७, सोमबार ११:०९