
जुम्ला । जुम्लामा एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रमको काम आर्थिक वर्षको अत्यमा धमाधम भइरहेको छ । कोभिड–१९ बाट प्रभावितलाई रोजगारी सिर्जना गर्न उद्देश्यले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत जिल्लाको सामाजिक विकास कार्यालय र स्थानीय तह बीचको समन्वयमा सञ्चालित सो कार्यक्रमले बेरोजगार र कोरोनाले रोजगार गुमाएका ब्याक्तिलाई रोजगार दिने सामाजिक बिकास कार्यालय जुम्लाका प्रमुख बलबिर सुनारले बताए ।
कोरोना भाइरसका कारणले घरखर्च चलाउन समस्या परेकादेखि बेरोजगारलाई रोजगारी दिन प्रदेश सरकारले शुरु गरेको मुख्यमन्त्री रोजगार कार्यक्रमलाई जिल्लाका स्थानीय तहले प्राथमिकताका साथ सञ्चालन गरेका छन् । यहाँको तिला गाउँपालिकाले –३ मा माथिल्लो कुडारी बजार नुवाकोट ग्रामीण सडक पुनःनिर्माण काम शुरु गरेको छ । सो कामका लागि ४५० जनालाई रोजगारी दिइएको गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले बताए । योगीका अनुसार उक्त वडामा दुई वटा योजना छनौट भएको छ ।
बाटो पुननिर्माण कामकालागि पालिकाका वडा नं. १ देखि ५ सम्मका स्थानीयवासीले कामसहित रोजगारी पाएको र मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि गाउँपालिकालाई चालू आर्थिक वर्षमा रु ६४ लाख बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ । यहाँको चन्दननाथ नगरपालिका–८ र ९ मा मडाना खोलीगाउँ सडक निर्माणमा सो कार्यक्रममार्फत् २२३ जनालाई रोजगारी दिइएको उपप्रमुख अप्पसरादेवी महतले बताइन् । मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि नगरपालिकालाई चालू आर्थिक वर्षमा रु ६४ लाख बजेट विनियोजन भएको नगरपालिकाले जनाएको छ ।
जिल्लाको हिमा गाउँपालिकामा भने जेठको दोस्रो सातादेखि नै कार्यक्रम सञ्चालन गरेको थियो । गाउँपालिकामा मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत् हिमा आवासीय विद्यालयको भवन निर्माण लगायतका काम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए । सो गाउँपालिकाको भवन निर्माणमा पालिकाका २०० जनालाई रोजगारी दिइएको र मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि गाउँपालिकालाई चालू आर्थिक वर्षमा रु ६४ लाख बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ । तातोपानी गाउँपालिकाले सो कार्यक्रम मार्फत् २०० जनालाई रोजगारी दिएको छ ।
गाउँपालिकाका रोजगार संयोजक सरीता शर्माका अनुसार वडा नं.८ मा थराल्ले ग्रामीण सडक निर्माणका काम चलिरहेको छ । गाउँपालिका मुख्यमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी, सीप विकासमार्फत स्वरोजगार उन्मुख समृद्ध गाउँपालिका निर्माणमा अघि बढेको र मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि गाउँपालिकालाई चालू आर्थिक वर्षमा रु ६४ लाख बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत् सिंजा गाउँपालिकामा २५० जनाले रोजगारी पाएका छन् ।
गाउँपालिकाका रोजगार संयोजक इन्द्रराज गिरीका अनुसार वडा नं.५ मा गोरा खानेपानी (दलित बस्तीमा) खानेपानी निर्माणलगायत कामकालागि रोजगारी प्रदान गरिएको संयोजक गिरीले जानकारी दिए । रोजगार कार्यक्रमका लागि गाउँपालिकालाई रु ६४ लाख बजेट विनियोजन भएको थियो । यो वर्ष शतप्रतिशत योजना सम्पन्न गर्न सकिने गाउँपालिकाले जनाएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत् कनकासुन्दरी गाउँपालिका –१ मा सिप्टीकाँडा खानेपानी निर्माणलगायत कामकालागि गाउँपालिकाका सबै वडाका स्थानीयवासीले रोजगार पाएको गाउँपालिका निमित्त प्रमुख प्रशाकीय अधिकृत विपेन्द प्रसाद्र अधिकारीले बताए ।
मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि गाउँपालिकालाई चालू आर्थिक वर्षमा रु ६४ लाख बजेट विनियोजन भएको भएको र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत् घरदैलोमा नै रोजगारी पाउँदा यहाँका स्थानीयवासीमा खुशी देखिएको गाउँपालिकाले जनाएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत् जिल्लाको पातारासि गाउपालिका–७ मा दुर्गादेवि महिला कृषि सहकारी आलु प्रशोधन भबननिर्माण कार्यक्रम अन्तिम चरणमा पुगेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । जारी बन्दाबन्दीले घरखर्च चलाउन गाह्रो भएका र गाउँपालिकाले अति गरिब घरपहिचान गरेका स्थानीयवासीलाई कामसहित रोजगार दिएको गाउँपालिकाको रोजगार शाखाले जनाएको छ ।
मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि गाउँपालिकालाई चालू आर्थिक वर्षमा रु ६४ लाख बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत जिल्लाको गुठीचौर गाउँपालिका–३ मा शंकर मा.वि. विद्यालयको खेल मैदान निर्माण र गोरेटो बाटो निर्माणको काम संचालन भएको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । रोजगार कार्यक्रमका लागि गाउँपालिकालाई रु.६२ लाख बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ । तिला गाउँपालिका–१ का धनराज बुढाले बन्दाबन्दीका कारण त्यत्तिकै घरमा बसिरहेको अवस्थामा गाउँपालिकाले प्रदान गरेको रोजगारले राहत मिलेको बताए ।
गाउँमै रोजगारी पाउने हो भने बेरोजगार युवायुवती काम खोज्दै अन्यत्रै जान पर्दैनथ्यो, प्रदेश सरकारले ल्याएको कार्यक्रम खुशी लागेको छ, सो कार्यक्रम अझै व्यापक र लामो समयसम्म भए राम्रो हुने बुढाले बताए । आयोजनाको कुल बजेटमध्ये ७० प्रतिशत रकम कामदारले ज्यालावापत पाउँछन् भने ३० प्रतिशत रकम आयोजनालाई आवश्यक पर्ने सामाग्री खरिद गर्न सकिने र कामदारले काम गर्दा चोटपटक लाग्नसक्ने स्थितिलाई मध्यनजर गर्दै सुरक्षाका लागि सेफ्टि ईकुमेन्ट (हेलमेट, पन्जा, जकेट तथा सेफ्टि जुत्ता) पनि आयोजना अवधिभर प्रयोग गर्न लगाउने सामाजिक विकास कार्यालय जुम्लाका सवइन्जिनियर प्रेमबहादुर शाहीले बताए ।
विजय रावत ।