
बझाङ । बझाङमा शुक्रवार राती पहिरो जाँदा केदारस्यूँ गाउँपालिका–८ मल्लेसी गाउँमा १८ घर पहिरोले बगाउँदा सात जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ६ जनाको शव भेटिएको छ भने एक जना अझै बेपत्ता रहेका छन् । शनिबार विहान स्थानीय र सुरक्षाकर्मीहरुले पहिरोमा पुरिएका ६ जनाको शव निकालेका छन् ।
आफ्नै घरभित्र पुरिएको अवस्थामा ४४ वर्षीया रामती जेठारा, उनकी १५ बर्षीया छोरी शान्ती जेठारा, ११ वर्षिया छोरा प्रयागराज जेठारा, ७ वर्षकी छोरी अस्मीता जेठारा तथा ८० वर्षिय दले जेठारा, १२ बर्षिय सन्तु जेठाराको शव निकालेको घटनास्थलमा खटिएका असई रायभान सिंह ऐरीले बताए । उनका अनुसार पहिरोमा पुरिएका २० बर्षीया गिरीजा जेठाराको खोजी कार्य भइरहेको छ ।
‘राती अविरल बर्षासहित गाउँ माथिबाट अलिअलि पहिरो आउँदा जानकारी भएपछि हल्लाखल्ला गरेर राती सबै घरबाट बाहिर निस्कियौं, घटनाका स्थानीय सुरेश जेठाराले भने, ‘उनीहरु भाग्न नसकेर पहिरोमा पुरिए ।’ गाउँको माथिपट्टी रहेको रातोपड सामुदायिक बनबाट पहिरो आएपछि १८ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
उनले भने, ‘गाउँको माथि रहेको सामुदायिक बनमा पनि खुल्ला चरिचरन बन्द गरेको झण्डै एक दशक भइसकेको थियो । पहिरो आउँछ भन्ने लागेको थिएन । राती सुतेका बेला एक्कसी पहिरो आउँदा बाँच्नै मुस्किल भयो ।’ उनका अनुसार पहिरोले २२ वटा भैसी, ६५ वटा बाख्रा, २४ वटा गाईगोरु समेत बगाएको छ । पहिरोले गाउँको बीच भाग हुँदै १८ घरहरु बगाएपछि मल्लेसी गाउँ शोकमा डुबेको छ । एक्कासी आएको पहिरोले गाउँ बगाएपछि मल्लेस गाउँका १८ परिवारको उठिबास भएको छ ।
स्थानीय नरेश बोहराले भने, ‘शरीरमा लगाएका लुगा कपडाबाहेक सबै पहिरोले लग्यो । घरभित्रको खाद्यान्न, लत्ताकपडा, धन सम्पत्ती र गाईगोरु समेत सबै बगाएर लियो । यसपाली के विपद् आइलागेछ, गाउँ अगाडी भएको झण्डै २० रोपनी जग्गामा लगाएको धानबाली समेत पुरेको छ ।’ अहिले पनि गाउँमा पहिरो बग्न रोकिएको छैन । जुइली गाड र सुङरी गाडको बिचमा रहेको उक्त गाउँ जानलाई आवतजावत गर्नसमेत समस्या छ । यो गाउँमा ९० परिवारको बसोवास छ ।
घटनामा क्षति भएका पीडित परिवारलाई राहतका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको संघीय सांसद सदस्य आशा बिकले बताइन् । बझाङ्गका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने, ‘नेपाली सेनाको हेलिकप्टरबाट राहत सामाग्री लिने कुरा भएको छ । अहिले मृतकका शवहरु निकालेर त्यसको व्यवस्थापन गर्ने काम भइरहेको छ । थप क्षतिको विवरण लिइरहेका छौं ।’ राहात सामाग्रीसहित हेलिकप्टर पुगिसकेको प्रजिअ भण्डारीले बताए ।




सत्यराज सिंह ।