सूचनाको शक्ति - The Power Of Information

        

सूर्तिजन्य पदार्थसँगै दुई वटा मोटरसाइकल बरामद

बाँके । सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा नेपाल भित्रिँदै गरेको सूर्तिजन्य पदार्थसहित दुई वटा मोटरसाइकल बरामद गरेको छ । सशस्त्र प्रहरीको टोलीले डुडुवा गाउँपालिका–१ रामपुरबाट सूर्तिजन्य पदार्थसहित दुईवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीका सशस्त्र प्रहरी सहायक निरीक्षक तीर्थ भाट नेतृत्वको टोलीले सुपर पावर सूर्ति एक हजार ३०० पोका, बिडी ३८७ पोका, कमला पसन्द १०० डिब्बा, किशोरीलाल सूर्ति ११ पोका, नेस्ले ३६ डिब्बा र तस्करीमा प्रयोग भएका दुई वटा मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

तस्करीमा संलग्नहरु भने प्रहरीलाई देख्ने बित्तिकै भागेको सशस्त्र प्रहरी सहायक निरीक्षक भाटले जानकारी दिए । उनका अनुसार बरामद गरिएको करिब रु.तीन लाख ६३ हजार ५१५ बराबरको सूर्तिजन्य पदार्थ र मोटरसाइकल रहेको नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । बन्दाबन्दीका बेला बाँकेका छोटी नाकाहरुबाट अवैध सामान तस्करी बढ्न थालेपछि सशस्त्र प्रहरीले निगरानी बढाएको जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार १४:४०