सूचनाको शक्ति - The Power Of Information

        

सुधार गृहबाट बालक भागेपछि…

बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६, आसमानपुरमा रहेको जयेन्दु बाल सुधार गृहबाट एक बालक भागेका छन् । चोरी मुद्दामा बाल सुधार गृह पुगेका  बालक भागेपछि बाल सुधार गृहमा खैलाबैला मच्चिएको छ । बालक भागेपछि बाल सुधार गृह सुरक्षार्थ खटिएको प्रहरीका इन्चार्ज, हवल्दार र डिउटीमा रहेका एकजना जिल्ला तानिएका छन् ।

बालक चार दिनअघि भागेका थिए । बाल सुधार गृहमा १०१ जना रहेका छन् । दिउँसो तीन बजेतिर ती बालक भागेका थिए । बालक अहिलेसम्म फेला परेका छैनन् । ती बालक यसअघि पनि भागेका थिए । त्यतिबेला घरबाट समातेर ल्याइएको थियो । यसपाली उनी घरमा नगएको बुझिएको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले बालकको खोजी गरिरहेको बताए ।

‘यसअघि पनि भागेको रहेछ । खोजेर ल्याइएको रहेछ । यसपाली पनि भागेको छ,’ डीएसपी खड्काले भने, ‘फेला परिहाल्छ ।’ बाल सुधार गृहमा केही दिनअघि बालकले ब्लेडले हात काटेका थिए । त्यसो त बाल सुधारगृहमा रहेका अधिकांश व्यक्तिमा छालाको संक्रमण देखिएको छ । केही दिनअघि विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविर गरिएको थियो ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार १५:४२