सूचनाको शक्ति - The Power Of Information

        

संसद अधिवेशन अन्त्य, प्रधानमन्त्रीविरुद्धको संकट तत्काललाई टर्‍यो

काठमाडौं । संसदको बर्खे अधिवेशन अन्त्य भएको छ । बिहीबार बसेको मन्त्री परिषद बैठकले बेलुका पाँच बजेदेखि (असार १८ गते बिहीबार) लागु हुने गरी संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले संसदको जारी अधिवेशन स्थगन गर्ने निर्णयसहित राष्ट्रपतिकहाँ सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वर्षे अधिवेशन अन्त्य गरेकी हुन् । भण्डारीले बिहीबार संघीय संसद सचिवालयलाई एक पत्र पठाउँदै बिहीबार साँझ ५ बजेदेखि दुबै सदनको चालू अधिवेशन अन्त्य भएको जानकारी गराएकी छन् ।

प्रधानमन्त्रीले पार्टीभित्र र सभामुख तथा राष्ट्रियसभा अध्यक्षसँग समेत छलफल नगरी एकाएक संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन् । पार्टीभित्र संकटमा आएका प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरि फर्किएपछिको मन्त्रीपरिषद बैठकमार्फत संसदको चालु अधिवेशन अर्थात् बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गराएका हुन् ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग जोडदाररुपमा उठाइरहेका बेला सरकारले संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । अधिवेशन अन्त्य भएसँगै संसदमा प्रधानमन्त्री ओलीविरुद्ध आउन सक्ने सम्भावित संकट तत्कालका लागि टरेको छ ।

प्रचण्ड–नेपाल पक्षले चाहेर पनि तत्काल संसदमा अविश्वासको प्रस्ताव लैजान नपाउने भएका छन् । यस्तै ओलीलाई आफू अनुकुल अध्यादेश ल्याउने बाटो पनि खुला हुने भएको छ । यस्तै चाहेमा संकट काल लगाउने अधिकार पनि ओलीले पाउने छन् । संसदको विशेष अधिवेशन बोलाउनका लागि एक चौथाइ सदस्यले त्यसको माग सभामुख समक्ष गर्नुपर्छ ।

त्यसको जानकारी सभामुखले सरकारलाई गराएको १५ दिनपछि मात्रै विशेष अधिवेशनको प्रक्रिया सुरु हुने व्यवस्था रहेकाले तत्कालका लागि संसदमा ओलीको संकट टरेको हो । यो अधिवेशनबाट विवादास्पद एमसीसी विधेयक पारित गराउनुपर्ने भए पनि पार्टीभित्रैबाट विरोध भएपछि अघि बढ्न सकेन । तर एमसीसी पारित गर्ने अवधि थप्ने तयारी छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार १५:०१