सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा सलहको झुण्ड विखण्डन, थपिने सम्भावना कायमै

काठमाडौं । अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा सलह नेपालका धेरै जिल्लामा फैलिसकेको छ । झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको झुण्डको फैलावट धेरै भए पनि विखण्डन हुँदै गएको किट विज्ञको भनाइ छ । हावाको गतिमा आएको परिवर्तनले गत शनिबार सलह भारतबाट निजगढ हुँदै नेपाल प्रवेश गरेको थियो । सलह आजसम्म ५२ जिल्लामा पुगेको बताइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सलह कीरा अध्ययनका लागि गठित प्राविधिक कार्यदलका सदस्य तथा कीट विज्ञ समुन्द्रलाल जोशीले नेपालमा भित्रिएको सलह विभाजन हुँदै गएकाले ठूलो क्षति निम्त्याउने खतरा नदेखिएको बताए । उनले भारतबाट नेपालको सीमा नजिक अन्य झुण्डहरु आउँदै गरेकाले थप झुण्ड प्रवेश गर्नसक्ने सम्भावना कायमै रहेकोसमेत बताए । सलहलाई फुल पार्नका लागि मरुभूमि नै चाहिने भएकाले नेपालमा बसेर फुल पार्छ भन्ने कुरा सत्य नभएको उनको भनाइ छ ।

‘कि त जहाँबाट आएको छ, त्यहीँ फर्कनुपर्छ, होइन भने मरेर जान्छ, नेपालमा यसले फुल पार्ने सम्भावना न्यून छ,’ जोशीले भने । कृषि मन्त्रालयका अनुसार सलहले मुलुकका केही जिल्लामा देखिने गरी क्षति पुर्‍याएको छ । बारामा मकै तथा तरकारीबालीमा क्षति पुर्‍याएको छ । हेटौंडामा झण्डै १०० हेक्टरमा नै क्षति पुर्‍याएको विवरण आएको छ । अन्य जिल्लामा पनि क्षति पुर्‍याएको तर क्षतिको विवरण संकलनको क्रममा रहेको जनाइएको छ ।

प्राप्त विवरणअनुसार यो कीरा अफ्रिकी मुलुकमा देखिएको थियो । कीट विज्ञ जोशीले यो कीरा त्यहाँको रैथाने भएको बताए । त्यहाँबाट अन्य मुलुकमा फैलिँदै जाँदा नेपालमा पनि आइपुगेको हो । नेपालमा विभिन्न जिल्लामा बालीनालीमा देखिए पनि धेरैजसो सलह जङ्गलमै रहेको विज्ञले बताएका छन् । सलहको बारेमा कृषि मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले हेरिरहेको छ । केन्द्रका निर्देशक सहदेवप्रसाद हुमागाईँको नेतृत्वमा अध्ययनका लागि प्राविधिक कार्यदल छ ।

त्यसले अहिले अध्ययन विश्लेषणको काम गरिरहेको छ । केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले नेपालमा अहिलेसम्म भयावहरुपमा सलह नरहेको बताए । उनले भने, ‘हावाको बेगका कारण केही झुण्ड उछिटिएर नेपाल आएको हो, अहिले नेपालमा धेरै विखण्डन भइसक्यो, सानासाना झुण्डमा छ, तर थप प्रवेश गर्ने सम्भावना अझै छ ।’ कृषिविज्ञका अनुसार नेपाल छिरेको सबैभन्दा ठूलो झुण्ड सातदेखि नौ लाखको रहेको अनुमान छ । सुवेदीले घुमिराखेको झुण्डको सङ्ख्या घट्दो क्रममा रहेकोसमेत जानकारी दिए ।

पहाडी क्षेत्रमा जाँदा झुण्ड टुक्रिएको र केही त्यतै बसेको केही घुमिरहेको छ । आजको दिन भने दाङ, अर्घाखाँची र प्यूठानमा धेरै छ । अन्य जिल्लामा समेत सलह पुगेको छ । केन्द्रका अनुसार बुधबार सलहको एक झुण्ड भारतको भागलपुर तथा मोतिहारीमा रहेको र अर्को झुण्ड कुशिनगरबाट चम्पारण जिल्लातर्फ उडेको छ । उक्त सलह दार्जिलिङ र सिलिगुढीसम्म पुग्ने अनुमान गरिएको छ । त्यो सलह नेपालमा प्रवेश गर्ने सम्भावना पनि छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा विगत चार दिनदेखि मनसुन अरेबियन सागरबाट हावा पश्चिम तथा दक्षिण–पश्चिममा प्रभाव रहेकोमा हाल पूर्व तथा दक्षिण–पूर्वी क्षेत्रमा हावाको प्रभाव रहेको छ । यो क्रम तीन दिन नै कायम हुने जनाइएको छ । त्यसकारण भारतीय सीमावर्ती क्षेत्रमा रहेको सलहको झुण्ड हावाको बेगसँगै पूर्वबाट पश्चिमतर्फ आउनसक्ने सम्भावना रहेको छ । तराई, भित्रीमधेस तथा तल्लोपहाडी क्षेत्रमा सजक रहन पनि विज्ञहरुले आग्रह गरेका छन् ।

मंगलबार पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह कीरा पनि पश्चिमतिर सरेको अनुमान गरिएको छ । सलह कीरा फट्याङ्ग्रा प्रजातिको एक झुण्डमा (चारदेखि आठ करोड सङ्ख्यामा) उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्नसक्ने कीरा हो । यो कीराले हरियो वनस्पतिको पातसहित डाँठसमेत खाइदिन्छ । प्रत्येक कीराले प्रत्येक दिन आफ्नो तौल बराबर वनस्पति खाने गर्छ । त्यसैले यसको विकास छिटो हुन्छ र धेरै क्षति पुर्याउँछ । यो कीरा झुण्डमा हुने भएकाले क्षतिको प्रतिशत बढी हुन्छ । रासस

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार ०९:३३