सूचनाको शक्ति - The Power Of Information

        

सुनचाँदी व्यवसायमा निर्भर मजदुर संकटमा

कैलाली । सुनचाँदी व्यवसायमा निर्भर कैलालीका मजदुर संकटमा परेका छन् । लकडाउन शुरू भएपछि बन्द भएको सुनचाँदी व्यवसाय खुकुलो हुँदा पनि चल्ने अवस्था नहुँदा १ हजार जति मजदुर संकटमा परेका हुन् । मजदूर मात्र होइन, स्वयं सुनचाँदी व्यवसाय पनि धरापमा छ । सरकारले असार १ गते लकडाउन खुकुलो बनाएपछि खुलेका सुनचाँदी पसलमा कारोबार शून्यजस्तै छ ।

दुई हप्तासम्म ग्राहक आएका छैनन् । पसल सफा गर्ने काम मात्र भइरहेको व्यवसायीको भनाइ छ । सुनको मूल्य आकाशिएपछि व्यवसायीले खरीद गर्न सकेका छैनन् भने ग्राहक पनि आउने गरेका छैनन् । गत चैत १० गते सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ थियो बुधवार ९२ हजार ५०० रुपैयाँ छ । कारोबार नभएपछि व्यवसायी बैंकको ऋणको चिन्तामा छन् भने मजदुर काम नपाएर त्यसै घरमा बस्न बाध्य भएका छन् ।

‘लकडाउन खुकुलो भए पनि हामीले व्यवसाय गर्ने वातावरण भएन,’ सुनचाँदी व्यवसायी संघका अध्यक्ष देवहादुर सुनारले भने, ‘४०० व्यवसायी र १ हजार मजदुर संकटमा परेको अवस्था छ ।’ उनले काठमाडौंबाट सुन ल्याउन गाह्रो हुनाका साथै मूल्य पनि आकाशिएको बताए । ‘सुनचाँदी व्यवसाय संकटमा छ, कसरी अघि बढ्ने भन्ने बारेमा सोच्न सकेका छैनौं । मजदूर भोकभोकै छन्,’ अध्यक्ष सुनारले भने, ‘यतिबेला पहिले पुराना गहना किनबेच हुन्थ्यो, यतिबेला त्यो पनि ठप्प छ ।’

कैलालीमा करीब ४०० सुनचाँदी व्यवसायी छन् । लकडाउनअघि टीकापुर बजारमा मात्र हप्तामा २ किलो नयाँ सुन खपत हुने गरेको व्यवसायीको भनाइ छ । यसबाहेक पुराना गहना किनबेच पनि उत्तिकै हुने गरेको थियो । लकडाउनमा आर्थिक समस्या हुँदा कतिपयले सुन बेच्न खोजे पनि बिक्री नभएको स्थानीयवासीको भनाइ छ ।

‘समस्या पनि थियो, मूल्य पनि रामै्र थियो तर व्यापारीले सुन किन्दैनन्,’ टीकापुर–५ की झरना रिमालले भनिन्, ‘सुन बिक्री गरेर गर्जो टार्ने भनेर आएँ । बिक्री नगरी फर्कन थाल्दैछु । सुन किन्न व्यापारीले पैसा छैन भन्छन् ।’ पेशा संकटमा परेपछि कतिपय मजदूरले पेशा परिवर्तन गर्न थालेका छन् । उनीहरू लकडाउन खुलेपछि नयाँ पेशा गर्ने तयारीमा छन् ।

लम्कीका सुनचाँदी व्यवसायी रमेश विकले व्यवसाय नचल्ने भएपछि अब परिवारमा सल्लाह गरेर अर्को व्यवसाय गर्ने सोच बनाइएको बताए । ‘सुनचाँदी पसल खोल्दा लागेको ऋण थपिँदै गएको छ । नयाँ वर्षदेखि असारसम्म राम्रो कारोबार हुन्थ्यो, लकडाउनले सबै ठप्प भयो,’ विकले भने, ‘यसरी चलाउन सकिएलाजस्तो लागेन । अब अर्को व्यवसाय गर्छु ।’ रासस

प्रकाशित मिति : १७ असार २०७७, बुधबार १४:४७