सूचनाको शक्ति - The Power Of Information

        

नेपालका ५० जिल्लामा फैलियो सलह, भारतबाट थप झुण्ड आउँदै

काठमाडौं । अहिलेसम्म नेपालका विभिन्न झुण्डमा गरी नेपालका झण्डै ५० जिल्लामासलह फैलिएको बताइएको छ । चार दिनअघि झुण्ड झुण्ड बनाएर नेपाल भित्रिएको सलह नेपालमा ३६ लाख संख्यामा रहेको अनुमान गरिएको छ ।

मनुसुनको बेला पूर्वबाट पश्चिमतिर हावा बहने गरे पनि चार दिनअघि दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह नेपाल आइपुगेको कृषि वैज्ञानिकहरुले बताएका छन् । यसअघि पनि उनीहरुले दक्षिणबाट उत्तरतिर हावा बहे नेपालमा सलह आउन सक्ने पनि बताएका थिए । यो फट्याङग्राको एक बथान (झुण्ड) अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तानहुँदै भारत छिरेको थियो ।

अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो । भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, विहार, राजस्थानलगायतका स्थानमा एक महिनाअघि यो फट्याङग्राको बथान प्रवेश गरेको थियो । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) अनुसार एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झण्डै चारदेखि आठ करोड फट्याङग्रा हुन्छन् ।

एक दिनमा फट्याङग्राहरु करिब १३० किलोमिटरसम्म बथान बनाएर हिँड्न सक्छन् । फट्याङग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञहरुले बताएका छन् । यो एक दिनमा ५ सय किलोमिटरसम्म बथानमै उढ्छ भने आफ्नो गन्तव्यमा पुगेर जमिनमा और्लन्छ । नेपालमा सलह देखिएपछि किसानहरु चिन्तितसमेत बनेका छन् ।

भारतबाट थप झुण्ड आउँदै

वायुको गति परिवर्तन भएकाले भारतबाट नेपालमा सलहका थप झुण्डहरु आउँदै गरेको थाहा भएको कृषि तथा पशु पक्षी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जानकारी दिएको छ । अहिले सलहका झुण्डहरु भारतको भागलपुर तथा मोतीहारी क्षेत्रमा रहेको र एउटा झुण्ड कुशिनगरबाट चम्पारण जिल्लातर्फ उडेको जानकारी प्राप्त भएको केन्द्रले जनाएको छ । सो सलहको झुण्ड नेपाल हुँदै दार्जिलिङ्ग र सिलिगुडीसम्म पुग्ने पूर्वानुमान रहेको छ ।

नेपालमा अहिले अरेबियन सागरबाट बहने पश्चिमरदक्षिण–पश्चिमी मनसुनी वायुको प्रभाव रहेको छ । यस्तै सतहमा पूर्वीरदक्षिण–पूर्वी वायुको प्रभाव छ । अबको तीन दिन देशभरी सोही वायुको प्रभाव हुने मौसम विज्ञान विभागले पूर्वानुमान रहेको छ । यो अवस्थामा भारतका सीमावर्ती क्षेत्रमा सलहका झुण्डहरु हावाको बहावसँगै पूर्वबाट पश्चिमतर्फ आउन सक्ने सम्भावना प्रवल रहेको केन्द्रले उल्लेख गरेको छ । सलहको झुण्ड तराई, भित्रिमधेश तथा तल्लो पहाडी क्षेत्रका किसानलाई सजग रहन केन्द्रले आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार १४:३०