सूचनाको शक्ति - The Power Of Information

        

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा रोपिँदै

बाँके । हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना बुधबारदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ ।

बुधबारदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा.रामचन्द्र गौतमले जानकारी दिए ।

भगवान विष्णुले शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । यस वर्ष असोज महिनामा अधिकमास पर्ने भएकाले चतुर्मासा भनिए पनि पाँच महिना हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस वर्ष चतुर्मासाको अवधिमा १० एकादशी पर्छन् । अधिकमासका कारण पद्मनी र परमा नामका दुई एकादशी बढी भएका हुन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरि बोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

हरिशयनी एकादशीका अवसरमा बुधबार बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । यसवर्ष कोरोना भाइरसको सङ्क्रमण फैलने डरले २५ जनाभन्दा बढीको भीडभाड नगर्न सरकारले सार्वजनिकरुपमा आह्वान गरेको छ ।

यसअघि जारी गरिएको बन्दाबन्दी केही खुकुलो भए पनि सार्वजनिक यातायात नचलेकाले टाढाटाढाका मानिस मन्दिर जान सक्ने अवस्था छैन । धेरैजसो मन्दिर पनि आममानिसलाई दर्शन एवं पूजाआजाका लागि बन्द गरिएको छ । ती मन्दिरमा नित्य पूजा आराधना मात्र हुने गरेको छ ।

एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ ।

वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यतासमेत छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिक रुपमा पुष्टि भएको छ । चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापन गरिन्छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार ०७:५९