सूचनाको शक्ति - The Power Of Information

        

१६८ किलोकी महिलाले जन्माइन् स्वस्थ शिशु

काठमाडौं । नेपालकै प्रसूति इतिहासमा पहिलोपटक १६८ किलो तौल भएकी एक महिलाले स्वस्थ शिशुलाई जन्म दिएकी छन् । नर्भिक इन्टरनेसनल अस्पतालमा असार १० गते कलंकीकी मेरिना हमालले शल्यक्रियामार्फत २ दशमलव ९५ किलो तौल भएकी शिशुलाई जन्म दिएकी हुन् ।

बरिष्ठ स्त्रीरोग तथा बाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा.नूतन शर्माले सफलतापूर्वक ती महिलाको शल्यक्रिया गरी प्रसूति गराएकी थिइन् । नवजात शिशु र आमाको अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ । डा.शर्माको नेतृत्वको चिकित्सकीय टोलीले करिब एक घण्टा १० मिनेट लगाएर शल्यक्रिया गरेको थियो ।

असाधारण तौल र शारीरिक वनावटका कारण निकै कठिन भए पनि उच्च सावधानीपूर्वक ती महिलाको शल्यक्रियामार्फत प्रसूति गराइएको डा.शर्माले बताए । सामान्यतः यति ठूलो तौल र शारीरिक बनोट भएका महिलाको शल्यक्रियामार्फत प्रसूति गराउनु आफैंमा निकै कठिन हुने चिकित्सकहरुको भनाइ छ ।

डा.शर्माले गर्भाधानको सुरुआती अवस्थादेखि नै ती महिलालाई उच्च जोखिम समूहमा राखेर उपचार गर्दै आएको बताइन् । ‘यो सफलताले केवल मोटोपन मात्रै गर्भाधानको बाधक हुन सक्दैन भन्ने देखाएको छ,’ डा.शर्माले भने, ‘जटिल र जोखिम अवस्थालाई पनि आधुनिक प्रविधि र दक्षताले सम्भव गराउन सकिन्छ भन्ने प्रमाणित गरेको छ ।’

लामो समयदेखि बाँझोपनको क्षेत्रमा उच्च जोखिमयुक्त बिरामीको उपचार गर्दै आएकाले पनि जटिल र जोखिमयुक्त प्रसूति सेवालाई सफलतापूर्वक व्यवस्थापन गर्न सकिएको डा.शर्मा बताउँछन् । नर्भिक अस्पतालले नेपालकै पहिलो रेकर्डका रुपमा रहेको जटिल शल्यक्रियात्मक प्रसूति गराउन सफलता प्राप्त गरेकोमा डा.शर्मालाई बधाई दिँदै नवजात शिशु र आमाको स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

बच्चा जन्माउनका लागि अस्पतालको नर्मल बेड सहज नहुने भएकाले अस्पतालले विशेष बेडको समेत व्यवस्था गरेको थियो । नवजात शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । यही अवस्थामा सुधार आएको खण्डमा उनलाई तत्कालै डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको जनाएको छ ।

 

 

#नेपाल समाचार पत्र

प्रकाशित मिति : १४ असार २०७७, आइतवार ०८:४९