सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा सलह किरा भित्रियो

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिरहेकै बेलामा नेपालमा पनि सलह कीरा भित्रिएको छ । कृषि मन्त्रालयका अनुसार भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान ८ बजे सलह कीराको चार वटा झुण्ड देखिएको जनाएको छ । सलह किराको झुण्ड देखेपछि स्थानीय किसानहरुले मन्त्रालयमा जानकारी दिएका थिए ।

बाराको डुमरवानासहितका दुई स्थान, पर्साको पर्सागढी तथा सर्लाहीको नलवपुर क्षेत्रमा शनिबार बिहान ७ देखि ८ बजेको बिचमा सलहको झुण्ड भारतबाट प्रवेश गरेको जानकारी आएको कृषि मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले जानकारी दिए ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख हुमागाईँले भने, ‘कस्तो खालको सलह हो र संख्या कति छ भन्ने थाहा पाउनका लागि स्थानीय विज्ञहरु सो क्षेत्रमा जानुभएको छ ।’ मरुभूमि सलह हो वा अरु प्रकारको सलह हो भन्ने यकिन नभएको र यसबारे अध्ययन गरेपछि मात्रै थाहा हुने उनले बताएका छन् ।

ठूलो संख्यामा नरहेको प्रारम्भीक जानकारी रहेको र यी सहल आप्रवासी हुन सक्ने पनि हुमागाईँले जानकारी दिए । नेपाल छिरेका सलहहरु अहिले रुख तथा जमिनमा बसेको जानकारी आएको उनले बताए । उनले भने, ‘पश्चिमबाट पूर्वतिर बहेको हावा केही दिनअघि अचानक दक्षिणबाट उत्तरतिर बहेकाले सहलको झुण्ड तितरवितर भएर नेपाल आएको हुन सक्छन् ।’

मन्त्रालयका अनुसार बारा जीतपुर, सिमरा नगरपालिका, निजगढ नगरपालिकामामा सलह किराको प्रवेश देखिएको हो । केही समयअघि अफ्रिका हुँदै भारतसम्म आएको सलहको हुल नेपाल पनि प्रवेश गर्न सक्ने सम्भावना रहेको भन्दै कृषि मन्त्रालयले नेपालमा सलह किराको प्रवेश हुन सक्ने भन्दै मन्त्रालयले यसअघि नै विज्ञ समूहको समिति गठन गरेको छ ।

मन्त्रालयले यस विषयमा ठोस कार्ययोजना बनाउनुपर्ने टड्कारो आवश्यकता रहेको छ । अन्यथा, कोरोना भाइरसको चपेटामा परेका जनता भोकमरीले झन् हाहाकार तुल्याउने अवस्था आउन सक्छ । अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा पनि आएको हो ।

सलह एक प्रकारको फट्याङ्ग्रा हो । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो कीराको नाम सलह दिएको छ । सलहको वैज्ञानिक नाम सिस्टोसेर्सा ग्रेगरीया हो । कृषि बालीमा यसले अमेरिकी फौजी किराको भन्दा बढी क्षति पुर्याउँछ । यो कीरा करोडौंको संख्यामा हुने गर्दछन् । यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ ।

यस्तै एक दिनमा १५० किलोमिटर भन्दा बढी टाढासम्म पुग्न सक्छ । यो कीराको प्रकोप खासगरी जेठ महिनादेखि असोजसम्म हुने गर्छ । जलवायु परिवर्तन र वातावरणमा भएको सुख्खापनले सलह किराको जनसंख्या बढेको अन्तर्राष्ट्रिय कृषि वैज्ञानिकहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार १३:२३