सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा पीसीआर मेसिन खरीदमा अन्यौलता

बझाङ । स्थानीय तहले रकम जम्मा नगर्दा बझाङमा पीसीआर मेसिन खरीदमा अन्यौलता बढेको छ । मेसिन खरीदका लागि असार १ गतेभित्र रकम जम्मा गर्ने निर्णय अनुसार स्थानीय तहहरुले रकम जम्मा नगरेपछि अन्यौलता बढेको हो । बझाङका १२ वटा स्थानीय तहमध्ये कतिपय स्थानीय तहमा लेखापाल नहुँदा पनि रकम जम्मा गर्न ढिलाइ भएको जनाएका छन् ।

बझाङका १२ वटा स्थानीय तहमध्ये जिल्ला समन्वय समिति, साइपाल र मष्टा गाउँपालिकाले मात्रै मेसिन खरिदका लागि रकम जम्मा गरेका छन् । अस्पतालको खातामा सबै रकम जम्मा भएपछि मेसिन खरिद, जडान सञ्चालनको जिम्मा अस्पतालले लिएको छ । अस्पतालले आफूले गर्ने कामको तयारी गरिसकेको भए पनि रकम संकलन हुन नसक्दा मेसिन खरिदमा अन्यौलता देखिएको जिल्ला अस्पताल बझाङका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सन्दीव ओखेडाले बताए ।

हाल स्वाब परीक्षण गर्न सुदूरपश्चिम प्रदेशको प्रादेशिक प्रयोगशाला धनगडी र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउनु परेकोले रिपोर्ट ढिला आउने गरेको छ । रिपोर्ट ढिलो आएपछि ग्रामीण क्षेत्रमा कोरोनाको जोखिम बढेको छ । जिल्ला विपद् व्यवस्थापन समिति बझाङको जेठ २६ गते बसेको बैठकले जिल्लाका सबै स्थानिय तह मिलेर पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेका थिए ।

बैठकमा मेसिन खरिदका लागि नगरपालिकाले १५ लाख र गाँउपालिकाले १० तथा जिल्ला समन्वय समितिले १५ लाख दिने निर्णय गरेको थियो । उक्त रकम सबै स्थानीय तहले असार १ गतेभित्रै जिल्ला विपद् व्यवस्थापन समितिको खातामा जम्मा गरिसक्नुपर्ने निर्णय गरेको भए पनि हालसम्म रकम जम्मा नहुँदा खरिदमा ढिलाई भएको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी बताए ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार १२:५२