सूचनाको शक्ति - The Power Of Information

        

नेकपामा ‘कोरोना जन्तर’ चर्चामा, ‘बेसारको धुलोजस्तै हो की ?’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक चलिरहेको छ । गत बुधबारबाट सुरु भएको बैठक शुक्रबार पनि जारी रह्यो । नेकपाको स्थायी कमिटी बैठकबाट ‘कोरोना जन्तर’ चर्चामा आएको छ । सामाजिक सञ्जालमा आएको उक्त भिडियोमा स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले ‘कोरोना जन्तरका बारेमा बोलेका छन् ।

मुखमा लगाउने मास्क हातमा समातेका न्यौपानेले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै भनेका छन्, ‘केटाकेटी हुँदा धामिले एउटा जन्तर लगाइदिन्थे । यो भुतप्रेत, बोक्सी लाग्दैन भनेर गलामा झुण्ड्याई दिन्थे । अहिले कोरोना जन्तर लाइदिए । यसले कति काम गर्छ भन्ने हो ।’ कमिटीका के भनेर हजुरहरुलाई दिइयो त भन्ने पत्रकारको प्रश्नमा न्यौपाने भन्छन्, ‘हैन हैन दिँदा दिएको हैन । माधव कुमार नेपाल कमरेडले ल्याउनुभएको । एउटा प्याक छ । कुन चाहीँ डाक्टरले दिएको रे । जापानमा पनि धेरैले लगाएर हिँड्छन् रे ।’

स्थायी कमिटीका सम्पूर्ण सदस्यहरुले यो जन्तर नलगाएको उनले बताए उनले भने, ‘सबैले लगाएका छैनन् । भेटे जतिले लगाएका छन् । सकियो होला लाउँदा लाउँदै ।’ उनले त्यो जन्तरलाई घाममा देखाउन नहुँने बताएका छन् । उनले भने, ‘यसलाई घाममा नदेखाउनु भन्ने नियम रहेछ ।’ ‘अर्कोले लाएको देखेर मैले मागे दिए । यो के हो भने मैले मागे । मलाई थाहा छैन यसले उडाउने हो की हैन् । उही बेसारको धुलो जस्तै हो की ?’ उनले आफूलाई त्यो चिज माधव कुमार नेपालले दिएको जानकारी गराए । माधव नेपाल नेकपाका बरिष्ठ नेता हुन् ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार ०९:४७