सूचनाको शक्ति - The Power Of Information

        

तिलाको बजेट ४० करोड, युवासँग अध्यक्ष कार्यक्रम लागु गरिने

जुम्ला । तिला गाउँपालिकाको सातौं गाउँसभाले आगामी आर्थिक वर्षका लागि ४० करोड १० लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । चालुतर्फ ६ करोड ४५ लाख, सशर्तमा १५ करोड ८५ लाख र पुँजीगत खर्चमा १७ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको हो । आर्थिक बर्ष २०७७/०७८ को नीति कार्यक्रम र बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा प्राथमिकतामा परेको र शिक्षातर्फ ४० लाख रुपैयाँ विनियोजन गरेकोमा स्वास्थ्यतर्फ एक करोड रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष बुढाले बताए ।

भौतिक पूर्वाधार विकासतर्फ २५ करोड ५९ लाख ८४ हजार रुपैयाँ विनियोनजन गरिएको छ । कृषि विकासतर्फ ५० लाख, पशु विकासतर्फ ३० लाख, पर्यटन तथा संस्कृतितर्फ १० लाख रुपैयाँ र उद्योग व्यवसायतर्फ २० लाख रुपैयाँ विनियोजन गरिएको छ । उपाध्यक्ष बुढाले प्रस्तुत गरेको नीति कार्यक्रम र बजेटमा महिला तथा बालबालिकातर्फ रु ४० लाख, पोषणतर्फ ३० लाख, अपांगता भएका ब्यक्तितर्फ ५ लाख, युवासँग अध्यक्ष कार्यक्रमतर्फ १५ लाख र लक्षित बर्गमा ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सुशासन तथा संस्थागत विकासमा रु ७५ लाख वन वातावरण तथा विपद् व्यवस्थापनमा २० लाख रुपैयाँ विनियोजन गरिएको हो । विपद् व्यवस्थापन कोषमा १० लाख र प्रकोप व्यवस्थापन कोषमा ९० लाख रुपैयाँ प्रस्ताव गरिएको गाउँपालिकाका अध्यक्ष रतननाथ योगी बताए । कृषि क्षेत्रलाई गाउँपालिकाको उत्पादनको प्रमुख क्षेत्रका रुपमा स्थापित गर्ने, नतिजामा आधारित विकास गर्ने परिपार्टीको विकास गरिने र बालविवाहलाई निरुत्साहित गर्न सरोकारवालासँग प्रभावकारी समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

छुाउगोठ मुक्त अभियानलाई निरन्तरता दिने, सेवाप्रवाहलाई सुशासनमैत्री, नागरिकमैत्री र भ्रष्टचार मुक्त बनाउने र कार्यक्रममा दोहोरोपना हुन नदिन विशेष सतर्कता अपनाउने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाका अध्यक्ष योगी बताए । आगामी आर्थिक बर्षमा रसायनमुक्त गाउँपालिका घोषणा गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने, आफ्नो वडा आफैं बनाउ भन्ने नीतिलाई कार्यान्वयनमा लैजाने, एक घर एक धारा अभियानालाई पूर्णत कार्यान्वयनमा लिइनेछ ।

आधारभूत विद्यालयमा कक्षा एकदेखि अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने व्यवस्था मिलाइने, चिनौं आफ्नै माटो, बनाउ आफ्नै गाउँ कार्यक्रम सञ्चालन गरेर युवाहरुलाई विकास निर्माण र व्यवसायमा लाग्न उत्प्रेरित गर्ने र उत्पादनका आधारमा किसानलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने नीति अवलम्बन गरिएको छ । गाउँपालिकाले खाद्य वस्तुको गुणस्तर र नियमनलाइ प्रभावकारी बनाउँदै उच्च मुल्यका कृषि वस्तु उत्पादनमा किसानको ध्यान केन्द्रित गराउने देखि बाँझो जग्गा प्रयोजनका लागि एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने र सामुहिक खेतीलाई बढवा दिने खालको नीति सार्वजनिक गरेको हो ।

विदेशबाट फर्केका युवाहरुको लगत संकलन गरेर स्वरोजगार सिर्जना गरिने र युवा स्वरोजगार तथा उद्यमशिलता विकासका लागि युवा उद्यमशिलता कार्यक्रम सञ्चालनमा ल्याइनेछ । मेरो साथी पर्यटक, हाम्रो पर्यटकीय स्थल कार्यक्रमको थालनी गरि पर्यटक आकर्षित गर्नुका साथै पर्यटकीय स्थलहरुको अभिलेखिकरण गर्ने नीति छ । तत्काल कोरोनाको प्रभावबाट अबरुद्ध पठनपाठनमा जोड दिनका लागि बैकल्पिक शिक्षण क्रियाकलापमा जोड दिइने, प्रत्येक माबि लाई प्रविधिमैत्री बनाउन स्रोतसाधनको ब्यबस्था मिलाउने, शिक्षण सिकाइलाई प्रभावकारी बनाउन अभिभावक शिक्षामा जोड दिने, शिक्षाको पालिकास्तरीय प्रोफाइल तयार गरि शैक्षिक योजना निर्माण गरिने, उच्च शिक्षा अध्ययनका लागि पालिकास्तरिय छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने पनि नीति तथा कार्यक्रमभित्र समावेश गरिएको छ ।

पालिकास्तरिय शिक्षा नीति निर्माण गरी कार्यान्वयनमा ल्याइने र तत्काल बिदेशबाट फर्किएका सिपयुक्त जनशक्तिलाई मध्येनजर गरि छोटो अवधिको रोजगार कार्यक्रम सञ्चालनमा जोड दिइनेछ । सुनौलो हजार दिनभित्रका महिलाका लागि गर्भवती आमासँग उपाध्यक्ष कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने, स्वास्थ्य क्षेत्रको पहिलो खुड्किलो महिला स्वास्थ्य स्वयंसेविकालाई काम गर्ने हौसला बढाउनका लागि उत्प्रेरित गर्नेखाले कार्यक्रम सञ्चालन गरिने, आगामी बर्षमा नियमित रुपमा स्वास्थ्य संस्थामा गर्भजाँच गर्नुका साथै स्वास्थ्य संस्थामा सुत्केरी हुने दरलाई बढाउँदै घरमा सुत्केरीहुने कार्यलाई निरुत्साहित बनाइने नीति अवलम्बन गरिएको गाउँपालिका अध्यक्ष योगीले बताए ।

महिला स्वरोजगार सिर्जना गर्नको लागि ढाँका उद्योग औपचारिकरुपमा दर्ता गरेर सञ्चालनमा ल्याइनेछ । ‘मेरो फोहोर मेरो जिम्मेवारी’ भन्ने मुलनाराका साथ सडकसँग जोडिएका बजार सुधार गर्ने, गाउँपाकिलालाई बेरुजुरहित बनाउने र गाउँपाकिलालाई कोभिड १९ महामारी मुक्त गाउँपालिका बनाउनु पहिलो प्राथमकिता भएकोेले महामारी रोगथामका लागि अपनाउनु पर्ने स्वास्थ्य सजगताको नियम पालान गर्ने निती बनाइनेछ । पटकपटक कार्यालयमा आएर कर्मचारीमाथि गरिने दुर्व्यवहारलाई मध्येजर गर्दै कर्मचारीको मनोबल उच्च पार्न सुरक्षाको प्रत्याभूति दिलाइने नीतिसमेत नीति तथा कार्यक्रमले समावेश गरिएको गाउँपालिकाका अध्यक्ष योगी बताए ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार ०७:४३