सूचनाको शक्ति - The Power Of Information

        

डुडुवामा अत्याधुनिक भवन निर्माण गरिँदै

बाँके । बाँके डुडुवा गाउँपालिकाको नयाँ कार्यालय भवन निमार्णको कार्य शुरु भएको छ । अत्याधुनिक प्रविधीबाट निर्माण हुने सुविधा सम्पन्न भवनको सोमबार गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गरेका छन् । भवनको शिलान्यास गर्दै अध्यक्ष चौधरीले निर्माण हुन लागेको भवनले गाउँपालिकाको काम काजमा निकै सहजता उत्पन्न गराउने र सेवाग्राहीलाई अझ बढी गुणस्तरिय सेवा प्रदान गर्नमा मद्दत पुग्ने बताए ।

उनले कुनै पनि संस्थालाई संस्थागत, दिगो र प्रभावकारी बनाउनमा पहिलो कुरा भनेको कार्यालय भवन नै भएकाले यसले जनप्रतिनिधी, कर्मचारी र सेवाग्राहीबीचको सम्वन्ध सुधार गर्ने बताए । उनले गाउँपालिका भवन निमार्णको यो ठुुलो परियोजना भएको भन्दै निर्माण कम्पनीलाई निश्चित अवधीभित्र निमार्ण कार्य सम्पन्न गर्न र गुणस्तरियता कायम गर्न अनुरोध गर्दै प्राबिधिक तथा अनुगमन टोलीको भूमिका बढाउन अनुरोध गरे ।

गाउँपालिका वडा नं. ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा रु १३ करोड २६ लाखको लागतमा अत्याधुनिक कार्यालय भवन निर्माण हुनेछ । चारतले भवनमा ४०० जना क्षमता भएको ठुलो सेमिनार हल, सानो सभा कक्ष, ३२ वटा कोठा, स्टोर कोठा, शौचालय, बाउण्ड्री, ठुला तथा साना सवारीका लागि पार्किङ्ग, प्ले ग्राउण्ड, सेवाग्राहीका लागि प्रतिक्षालय, गार्डरुम र लिप्टसहितको भवन निर्माण हुने प्राविधिक शाखाका मदनेश्वर झाले बताए । रोयल कन्सट्रक्सन धनगढीले भवन निमार्णको ठेक्का पाएको छ भने दुई वर्षभित्र भवन बनाउने सम्झौता छ ।

भवन निमार्णका लागि रु ६ करोड संघिय सरकारबाट, करिब रु ३ करोड बढी जिल्ला समन्वय समिति बाँकेबाट अनुदान र बाँकी रकम गाउँपालिकाको रहेको प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताए । गाउँपालिकाले अहिले वडा नंं ४ स्थित भवनबाट सेवा प्रवाह गरिरहेको छ भने बनकट्टीस्थित भवनको सभाकक्षबाट गाउँसभा बस्दै आएको छ । शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, गाउँपालिका ३ नं. वडाध्यक्ष भण्डारीलाल यादव लगायत अन्य जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता थियो ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलवार ०७:३७