सूचनाको शक्ति - The Power Of Information

        

कोरोनामुक्त बन्यो नरैनापुर

फाइल तस्वीर

फाइल तस्वीर

बाँके । प्रदेश ५ को भारतसँग झण्डै ४०० किलोमिटर खुला सिमाना छ । त्यो बाहेक यस प्रदेशबाट ठूलो संख्यामा भारतमा रोजगारीका लागि जाने पुरानो प्रचलन हो । जसले गर्दा भारतमा कोरोना संक्रमण बढेसँगै बैशाखबाट भारतबाट नेपाल आउने भीड एकैसाथ बढ्यो । व्यबस्थापनमा शुरुमा केही हम्मेहम्मे नै भयो ।

प्रदेश ५ मा झन् ठूलो हटस्पट बन्यो बाँकेको नरैनापुर । एक जनाको ज्यानै गएको र ११८ जनामा एकाएक संक्रमण फैलिएको यहाँका सबै संक्रमित कोरोनालाई जितेर घर फर्किसक्नु भयो । पहिलेको हटस्पट नरैनापुर अहिले कोरोना मुक्त भएको छ । जेठको पहिलो सातादेखि फैलिएको संक्रमण एक महिनाभित्रै नियन्त्रणमा आएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुम्बाङका भनाईमा उच्च मनोबल र सबै पक्षको सक्रियताले सङ्क्रमणलाई शुन्यमा झार्न सकिएको हो । संक्रमण देखिनासाथ यहां निषेधित क्षेत्र घोषणा, सेनालाई सक्रिय बनाउनेदेखि पिसिआर परीक्षण, कन्ट्याक्ट ट्रेसिङ्ग र संक्रमितहरुको उपचारमा तीब्रता दिइएको हो ।

प्रदेशमा कोरोना उच्च जोखिमको एक जिल्ला बांकेमा नरैनापुरसँगै कोरोनामाथि बिजय हासिलको शृङ्खला निरन्तर बढिरहेको छ । प्रदेश सामाजिक बिकास मन्त्रालयका अनुसार ३४२ जनामा संक्रमण फैलिएको बाँकेमा १९५ जना कोरोनालाई जितेर घर फर्किसक्नु भएको छ । यही जिल्लामा कोरोना संक्रमित एक गर्भवती महिलाको सफल शल्यक्रियापछि स्वस्थ शिशुको जन्म भएको छ ।

प्रदेश सामाजिक बिकास मन्त्रालय अन्तरगत स्वास्थ्य महाशाखा प्रमुख डा.उमाशंकर चौधरीका अनुसार दुई हजार ४३७ जना संक्रमित यो प्रदेशमा झण्डै ९३३ जना निको भएर घर फर्किसक्नु भएको छ । यो प्रदेशमा निको भएर घर फर्किने दर ४० प्रतिशत रहेको छ । आइसोलेसनको बसाई अबधि पुगेका र अन्तिम रिपोर्ट कुरेका अरु धेरैजना पनि घर फर्किने तयारीमा छन् ।

यो प्रदेशमा संक्रमणबाट १० जनाको मृत्यु भएको छ । आइतबार थप १४५ जनामा संक्रमण देखिएको छ । झण्डै ४०० किलोमिटर खुल्ला सिमानाको जोखिमसँगै कोरोना संक्रमणको उच्च दर रहेर पनि यो प्रदेशमा कोरोना नियन्त्रण अभियान उत्साहजनक तरिकाले सफल भइरहेको प्रदेश सामाजिक विकास मन्त्री सुदर्शन बरालको भनाई छ ।

मन्त्री बरालका भनाईमा उच्च सतर्कता, परिक्षणको फराकिलो दायरा,उपचार संयन्त्रहरुको तत्काल ब्यवस्था, स्वास्थ्यकर्मीको साहस, संक्रमितहरुको उच्च मनोवल, सिमा ब्यवस्था र लकडाउनको पालनाजस्ता कारणले हटस्पटहरुसँगै प्रदेशभर कोरोनामाथि सफलता प्राप्त भइरहेको हो । उनका भनाईमा संक्रमण देखिनुअघि नै यहांका सबै जिल्लाहरुमा ठूलो क्षमताका क्वारेन्टाईन, कोरोना बिशेष अस्पतालहरु र प्रयोगशालाहरु बनाइएको थियो ।

शुरुमा परीक्षण किटको अभाव देखिए पनि तत्कालै ब्यवस्था गरेर परीक्षणको दायरा बिस्तार गरिएको थियो । त्यस्तै रोग प्रतिरोधी औषधि बितरण, नियमित र स्वस्थ्य खानपान, शारीरिक अभ्यास, मनोबिमर्श, ब्यवस्थित रेखरेदका कारण पनि धेरैले कोरोनालाई पराजित गरिरहेको उनले बताए । प्रदेशमा सबैभन्दा चुनौतीका रुपमा खुला सीमा र लुकिछिपी प्रबेश रहेको थियो ।

पछिल्लो पटक प्रदेश सरकारले एक जिल्लामा एकमात्र नाका प्रयोग गर्ने रणनीति लिएको थियो । यो प्रदेशमा चार वटा कोरोना बिशेष अस्पताल,९९ वटा आइसोलेसन सेन्टर सञ्चालनमा छन् भने एक हजार ८१६ स्थानमा ६१ हजार ६२८ बेड क्षमताका क्वारेन्टिनहरु छन् । अहिले प्रदेशका सबै जिल्लाहरुमा २३ हजार ४० जना क्वारेन्टिनमा बसेका छन् भने एक हजार ३५० जनाको आइसोलेसनहरुमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार १२:५९