सूचनाको शक्ति - The Power Of Information

        

लुटेरा समुहद्वारा व्यवसायीको हत्या प्रयास

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–७ सिसमघारीमा लुटेरा समुहले एक व्यवसायीको हत्या प्रयास गरेका छन् । प्रहरी चौकी फत्तेपुर ‘क’ का अनुसार लुटेरा समुहको आक्रमणबाट व्यवसायी ३५ वर्षिय पप्पु जैसवाल, उनकी श्रीमती ३० वर्षिय नितुदेवी र १० वर्षिय छोरा मुकेश घाइते भएका छन् ।

आइतबार बिहान करिब २ दुईको समयमा प्रहरी चौकीदेखि ५०० मिटरको दुरीमा रहेको घरमा लुटेराहरुको समुहले धारिलो हतियार प्रयोग व्यवसायीको ज्यान लिने प्रयास गरेका हुन् । प्रहरी चौकी फत्तेपुर ‘क’ का इन्चार्ज असई फत्तेबहादुर हमालले घटनाको पुष्टि समेत गरे । ‘राती अज्ञात समुहले जैसवालका परिवारमाथि धारिलो हतियारले आक्रमण गरेको रहेछ,’ उनले भने ।

घटनास्थलबाट कुनै बस्तु भने फेला परेको छैन । घटनामा संग्लन रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर केरकार गरिरहेको प्रहरीले बताएको छ । वडा नम्बर ७ का अध्यक्ष रामलखन थारुले लुटेरा समुहले खुकुरी प्रहार गर्दा व्यवसायी पप्पुका परिवारका तीन सदस्यहरु घाइते भएको बताए ।

‘राती लुटपाट गर्ने उद्धेश्यले लुटेराहरुको समुह घरमा पुगेको रहेछ,’ उनले परिवारका सदस्यको भनाई उदृत गर्दै भने, ‘समयमा नै थाहा पाएका कारण चोरी भने गर्न पाएनन् । तीन जनामाथि खुकुरी भने प्रहार गरेर भागे ।’ समयमा नै स्थानीयबासीले थाहा पाएपछि लुटेराको समुह भागेकाले ज्यान जोगिन सफल भएको वडाध्यक्ष थारुले बताए ।

उनका अनुसार यसअघि समेत यो पसलमा दुई पटक चोरीसमेत भैसकेको थियो । व्यवसायीका तीन सदस्यहरुको हत्या प्रयास भएपछि गाउँ नै त्रसित बनेको उनले बताए । उनले घटनामा संग्लनहरुलाई छिटो भन्दा छिटो पक्राउ गरेर कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरे ।

प्रकाशित मिति : ७ असार २०७७, आइतवार ११:३३