चिरञ्जीवी ढकाल
१.
न हिसाव न निसाफ, कस्तो गणतन्त्र ?
माथि झरी तल वाफ, कस्तो गणतन्त्र ?
सोझासाझा जनतालाई, हत्कडी र नेल,
अपराधीलाई माफ, कस्तो गणतन्त्र ?
२.
जहाँ गाह्रो त्यहीँ साह्रो, किन हुन्छ होला ?
गरीबकै बढ्ने पारो, किन हुन्छ होला ?
मूलको पानी, मुहानमै अलपत्र र,
घरमा सुकेको धारो, किन हुन्छ होला ?
३.
कुंमै ठोक्नु थियो भने, ढेसिन किन आको ?
उड्नै मन थियो भने, लेसिन किन आको ?
यदी छाडी अन्तै जाने, रहर थियो भने,
डगरको ढुंगासँग, ठेसिन किन आको ?
०६ असार २०७७
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके
चिरञ्जीवी ढकाल ।