हावाहुरीले उडाएका ट्रिगार्ड उठाएर लगाउँदै नगर प्रमुख डा.राणा ।
बाँके । नेपालगन्जमा सौन्दर्यकरण र हरियालीका लागि फोरलेन सडकको बीचभागमा लगाइएका फुलका विरुवा चोरी हुन थालेका छन् । बिहिवार राती नगरको विपीचोक क्षेत्रबाट दुईवटा फुलका विरुवा चोरी भएका छन् । यसअघि पनि फुलका विरुवा र ट्रिगार्ड चोरी भएको उपमहानगरपालिकाले जनाएको छ ।
फुलको संरक्षणका लागि लगाइएका ट्रि–गार्ड समेत ठाउँठाउँबाट चोरी भएको नगर प्रमुख डा. धवलसम्शेर राणाले जानकारी दिए । नगरको सौन्दर्यकरणका लागि लगाइएका फुल तथा ट्रिगार्ड चोरी गर्ने र जथाभावी फुलहरु टिप्नेको पहिचान गरि कारवाहीका लागि नगर प्रहरी र अन्य सुरक्षा निकायमार्फत निगरानी बढाइएको उनले बताए ।
नगर प्रमुख डा.राणाले भने, ‘नगरको सौन्दर्यकरण सम्पूर्ण नगरबासीको पनि चाहना हो । सडकको बीचभागमा रोपिएका फुल तथा ट्रिगार्ड चोरी गरी बिक्री वितरण गर्ने तथा फुलहरु जथाभावी टिप्नेहरुको बारेमा कुनै पनि सूचना भएमा उपमहानगरपालिका तथा सुरक्षा निकायमा खबर गरेर सहयोग गरिदिनु हुन अनुरोध छ ।’
नेपालगन्ज उपमहानगरपालिकाले नगरलाई सौन्दर्यकरणका लागि प्राथमिकतामा राखेको भन्दै नगर प्रमुख राणाले आम नगरबासीबाट साथ र सहयोगको अपेक्षा गरिएको बताएका छन् । उपमहानगरपालिकाले नगरको सौन्दर्यकरणका लागि नगरभित्र रोपिएका फुल तथा विरुवाको संरक्षणका लागि आम नगरबासीमा अपिल गरेका छन् ।
सत्यपाटी ।