केही दिनअघि राप्ती नदीबाट ढुङ्गा, गिट्टी तस्करी गर्दै गर्दा पक्राउ परेका ट्याक्टर ।
बाँके । बाँकेका नदी तथा खोलाहरुबाट वातावरणीय सन्तुलनलाई नै प्रभाव पार्ने गरि गिट्टी, वालुवा तथा ढुङ्गाको निकासी भइरहेको छ । अझ जनप्रतिनिधि आएपछि यो क्रम बढेको छ । बाँकेमा नदीजन्य पदार्थको सबैभन्दा धेरै स्रोत रहेको राप्तीसोनारी गाउँपालिकामा नदीजन्य पदार्थको अवैध दोहन तीव्ररुपमा भइरहेको छ । अवैध दोहनमा जनप्रतिनिधिकै साथ र संलग्नता रहेको प्रष्ट छ । राजनीतिक दल र जनप्रतिनिधि नै जिम्मेवार देखिन्छन् ।
राजनीतिक आडमा प्रकृतिको अवैध दोहन निकै बढेको छ । नदी तथा खोलामा ढुंगा, गिट्टीको अवैध उत्खखनविरुद्ध आवाज उठाउने दिलिप कुमारहरुलाई धम्क्याउँदै राजनीतिक आडमा अवैध दोहन तीव्ररुपमा मौलाएको छ । भन्न हिच्किचाउनु पर्दैन, चुनाव तथा पार्टीका कार्यक्रमहरुमा त्यस्ता ठेकेदार र तस्करहरुले राजनीतिक पार्टीलाई आर्थिक सहयोग गरेवापत राजनीतिक दलको बलियो साथ र संरक्षण रहन्छ ।
हो यहि कारणले गर्दा पनि अवैधानिक प्रारुपमा अवैध धन्दाहरु सञ्चालन हुँदै जान्छन्, दिलिपकुमारहरु मर्दै जान्छन् । नदी तथा खोलाबाट गिट्टी, बालुवा निकाल्नै नहुने भन्ने विक्कुल होइन । त्यसका लागि सरकारले तोकिदिएको मापदण्ड पुरा गर्नुपर्छ । नदी दोहनलाई मलजल तथा उर्जा दिन राजनीतिक दलकै मिलेमतो रहेको देखिन्छ । नेता तथा ठेकेदारको साँठगाँठ मिलेरै गिट्टी, बालुवा तस्करी बढेको देखिन्छ ।
जनप्रतिनिधि नै अदृष्यरुपमा गिट्टी, बालुवा तस्करीमा आवद्ध छन् । यही कारणले नदीजन्य पदार्थको अवैध दोहनको समस्या ज्यूँ का त्यूँ समस्या रहिरहन्छ । कुनै समय जिल्ला विकास समिति र केहीपछि जिल्ला समन्वय समिति मातहत रहेको खोला नदीजन्य पदार्थ ठेक्का लगाउने जिम्मेवारी अहिले स्थानीय तह मातहत छ । नाम फरक पारे पनि राजनीतिक दलकै आड र भरोसामा जनप्रतिनिधिले नदीजन्य पदार्थको दोहन गरिरहेका छन् ।
केही दिनअघि राप्ती नदीबाट ढुङ्गा, गिट्टी तस्करी गर्दै गर्दा पक्राउ परेका ट्याक्टर ।
शुक्रबार मात्रै लामो समयदेखि टिपर, जेसिबी राखेर कानूनको उल्लङ्घन गर्दै वर्षौदेखि राप्ती नदी दोहन गर्दै आइरहेका ढुङ्गा, गिट्टी तस्करीका नाइके मनोज केसी पक्राउ परेपछि राजनीतिक संरक्षण रहेको स्पष्ट देखिएको छ । उनी सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीका राप्तीसोनारी गाउँ कमिटीका सचिव हुन् । उनलाई तत्कालिन नेकपा एमालेका जिल्ला तथा केन्द्रीय तहका नेताहरुको संरक्षण रहेको स्रोतले बताएको छ । मनोज पक्राउपछि तस्करीमा संलग्न अन्य नाइकेहरुको भागाभाग भएको छ ।
राप्ती नदीबाट वर्षौदेखि ढुङ्गा, गिट्टी तस्करी गर्दै आइरहेका मनोज पक्राउ परेपछि तत्कालिन एमालेका केही नेताहरु उनलाई छुटाउने अभियानमा लागेका छन् । कानूनलाई अटेर गरेर दादागिरी गर्दै नदी दोहन गरेकाले पक्राउ परेका मनोजलाई राजनीतिक दबावमा कुनै पनि हालतमा नछोड्ने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गको भनाई छ । उनले मनोजविरुद्ध जिल्ला प्रशासन कार्यालय बाँकेमा शुक्रबार नै मुद्दा दर्ता गरि कारबाही अघि बढाइएको जानकारी दिए ।
‘पक्राउ परेका मनोजलाई म्याद थप गरी अहिले थुनामा राखिएको छ,’ प्रजिअ कुरुम्वाङ्गले भने, ‘अब नदीजन्य पदार्थ तस्करी गर्ने चालक र ओसारपसार गर्ने उपकरणमात्र होइन मालिकलाई नै पक्राउ गरेपछि मात्र नियन्त्रण हुने भएकाले तस्करीका नाइके मनोजलाई पक्राउ गरिएको हो ।’ प्रजिअ कुरुम्वाङ्गले कानुनविपरित कार्य गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउँदा आउने राजनीतिक दबावसँग नझुक्ने बताए । राप्ती नदीबाट ढुङ्गा, गिट्टी तस्करी गरिरहेका बेला सशस्त्र प्रहरीले केही दिनअघि चालकसहित टिपर र जेसिबी पक्राउ गरेको थियो ।
चालक र साधन छुटाउन मनोजले मालिक हुँ भन्दै प्रहरीलाई बारम्बार दबाव दिइरहेपछि उनलाई पक्राउ गरि मुद्दा दर्ता गरिएको प्रजिअ कुरुम्वाङ्गले जानकारी दिए । ‘कानूनलाई अटेर गर्ने, दादागिरी गर्दै तस्करी गर्ने कोही पनि अब कानूनबाट बच्दैन । तस्करहरुलाई छानीछानी कानूनको दायरामा ल्याउनेछौं । अब गाडी र चालकमात्र होइन मालिकलाई नै पक्राउ गर्छौं ।’ प्रजिअ कुरुम्वाङ्गले भने । यहि असार १ गतेदेखि राप्ती नदीबाट नदीजन्य पदार्थ ओसारपसारमा प्रतिबन्ध लागिसकेकोले त्यस्तो गरेको पाइएमा कारबाही दायरामा ल्याइने उनले बताए ।
काशी दर्शन ।