सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा ४९४ जनाले जिते कोरोना

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना जितेर घर फर्किनेको संख्या ४९४ पुगेको छ । विभिन्न आइसोलेसनमा रहेका १५२ जनाले बुधबार एकैपटक कोरोना जितेर घर फर्किएपछि कर्णालीमा कोरोना निको हुनेको संख्या ४९४ पुगेको हो ।

दैलेखको महाबु आइसोलेसन सेन्टरबाट १०६, नारायण आइसोलेसन सेन्टर र दैलेख अस्पतालबाट ४३ र प्रदेश अस्पताल सुर्खेतबाट तीन जना गरी बुधबार मात्रै १५२ जनाले कोरोना जीतेर घर फर्किएका हुन् । अझै ६१० जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् । हालसम्म कर्णालीका कुल १ हजार १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार मंगलबार मात्रै १९१ जना एकैसाथ कोरोना जीतेर घर फर्किएका थिए । दुल्लु अस्पतालबाट २७, दैलेख अस्पतालबाट एकसय २०, सल्यान अस्पतालबाट ४१ र प्रदेश अस्पताल सुर्खेतबाट तीन जना गरी मंगलबार एकैदिन १९१ जनाले कोरोना जितेका हुन् ।

मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले कर्णालीमा कोरोना जितेर घर फर्किनेको संख्या बढिरहेको बताउँदै घरमा पनि सर्तकर्ता अपनाउन अनुरोध गरे । उनका अनुसार कर्णालीमा हालसम्म कोरोना पुष्टि भएका तीन जनाको मृत्यु भएको छ । प्रदेशमा दैलेखमा ६३६ जना, हुम्ला र डोल्पामा एक–एक तथा मुगुका दुई जना, सल्यान एकसय ३७, सुर्खेत २३७, जाजरकोट आठ, कालिकोट ४२, जुम्ला २४ र अन्य प्रदेशका १६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार १२:२४