सूचनाको शक्ति - The Power Of Information

        

चीनले रिहा गर्‍यो १० भारतीय सैनिक

सीमा क्षेत्रमा भएको भिडन्तमा २० भारतीय सैनिकको ज्यान गएको थियो । उनीहरुको सम्मानका साथ अन्तिम बिदाई भएको छ ।

सीमा क्षेत्रमा भएको भिडन्तमा २० भारतीय सैनिकको ज्यान गएको थियो । उनीहरुको सम्मानका साथ अन्तिम बिदाई भएको छ ।

एजेन्सी । भारत–चीन सीमा क्षेत्रको गलवान उपत्यकामा भएको दुई देशका सेनाबिचको भिडन्तको तीन दिनपछि चीनले १० भारतीय सैनिकलाई स्वतन्त्र गरेको छ । द हिन्दूमा प्रकाशित खबर अनुसार चीनले बिहीबार बेलुका १० भारतीय सैनिकलाई स्वतन्त्र गरेको हो । सुहासिनी हैदर र दिनकर पेरीले हिन्दूमा लेखेको समाचार अनुसार भारत र चीनको आर्मीका मेजर जनरल तहमा भएको वार्तापछि बन्धक रहेका भारतीय सैनिक स्वतन्त्र भएका हुन् ।

पूर्व लद्दाखसँगैको गलवान उपत्यकाको वास्तविक नियन्त्रण रेखा (एएलसी) मा गएको सोमबार राति भारत र चीनका सैनिकबीच भिडन्त भएको थियो । सो भिडन्तमा भारतका एक उच्च सैनिक कमाण्डरसहित २० जनाको ज्यान गएको थियो । भिडन्तको क्रममा चीनको नियन्त्रणमा रहेका १० भारतीय सैनिक मेजर जनरल तहमा भएको वार्तापछि स्वतन्त्र भएको खबरमा उल्लेख छ ।

गलवान उपत्यका

यसरी स्वतन्त्र हुनेमा भारतीय सेनाका एक लेफ्निेन्ट कर्णेल र तीन मेजर पनि रहेका छन् । बुधबार बेलुका भारत र चीनका मेजर जनरल तहको वार्तामा भएको सहमति अनुसार १० भारतीय सैनिकलाई बिहीबार बेलुका पाँच बजेतिर चीनले रिहा गरेको र उनीहरुलाई कुनै चोट नपुर्याइएको सुरक्षा स्रोतलाई उद्धृत गर्दै हिन्दूले जनाएको छ । भारतीय सेनाले अब एलएसीमा भएको भिडन्तपछि कुनै पनि भारतीय सैनिक बेपत्ता वा सम्पर्क बाहिर नरहेको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार १०:३८