सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालविरुद्ध अनियमितताको उजुरी, अख्तियारले थाल्यो छानविन

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पतालमामाथि छानबिन सुरु गरेको छ । कोरोना भाइरस टेष्ट गर्ने मेशिन लगायत विभिन्न मेडिकल उपकरण खरिदमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले भेरी अस्पतालमा छानविन थालेको हो । संघीय सरकार मातहत रहेको भेरी अस्पतालविरूद्ध अख्तियारमा उजुरी दर्ता भएको छ ।

अख्तियारका दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी लोकमणी पाण्डेले बायो मेडिकल इक्वीपमेन्ट लगायतका मेडिकल उपकरण र औजारहरू टेण्डरबीनै खरिद गरी आर्थिक चलखेल तथा अनियमितता गरेको भन्दै भेरी अस्पतालविरूद्ध अख्तियारमा उजुरी दर्ता भएको बताए ।

दुई दिनअघि दर्ता भएको उजुरीमा कोभिड–१९ को निहुँमा अस्पतालले खरिद गरेका उपकरण तथा औजारहरू सरकारको खरिद ऐन तथा नियमावली विपरित टेण्डरबिनै खरिद गरेको उल्लेख गरिएको अख्तियारले जनाएको छ । उजुरी दर्ता भएपछि अस्पतालसँग उक्त उजुरीका बारे स्पष्टिकरण सोधिएको अख्तियारका सूचना अधिकारी पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार अख्तियारले ७ दिनको म्याद दिएर भेरी अस्पताललाई बायो मेडिकल इक्वीपमेन्ट कागजजात खरिद रसिद, टेण्डर आव्हानको प्रक्रियासँग खरिदको प्रक्रियाका बारे स्पष्ट लिखित जवाफ पठाउन अख्तियारले बुधबार पत्राचार गरिसकेको छ । ‘अहिले स्पष्टिकरण सहितका कागतजात माग गरिएको छ,’ उनले भने ।

अख्तियारका सूचना अधिकारी पाण्डेले अस्पतालले कागजातसहित स्पष्टिकरण पेश गरेपछि अख्तियारले आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउने बताए । भेरी अस्पतालमा कोरानाको टेष्टका तथा अन्य प्रयोजनका लागि करोड माथिको मेडिकल उपकरण खरिद गरिएको छ । उक्त उजुरीमा भेरी अस्पतालमा बायो मेडिकल इक्वीपमेन्ट खरिदमा मात्र नभई अस्पतालकै अन्य उपकरण औजार तथा विविध सामग्री खरिदमा पनि चरम आर्थिक चलखेल हुँदै आएको उल्लेख गरिएको पाण्डेले जानकारी दिए ।

अस्पतालमा दरबन्दी अनुसार कर्मचारीले आफ्नो दरबन्दीभन्दा फरक ढंग र पदमा बसेर काम गर्दा यहाँ आर्थिक चलखेल बढ्ने क्रम विगतदेखि अहिलेसम्म नरोकिएको भन्दै उक्त उजुरीमा तत्काल आवश्यकीय अनुसन्धान गर्न माग गरिएको अख्तियारले जनाएको छ । भेरी अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डाक्टर प्रकाशबहादुर थापाले उजुरी परेको स्वीकार्दै अख्तियारले सामान्य सोधपुछ गरेको बताए । उनले भने, ‘हामीहरू गलत छैनौं, उजुरी पर्दैमा आत्तिनुपर्दैन ।’

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार १८:१३