सूचनाको शक्ति - The Power Of Information

        

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सुरक्षाकर्मी परिचालन

केही दिनअघि राप्ती नदीबाट ढुङ्गा, गिट्टी तस्करी गर्दै गर्दा पक्राउ परेका ट्याक्टर ।

फाइल तस्वीर

बाँके । जिल्ला प्रशासन कार्यालयले जिल्लामा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सक्रियता देखाएको छ । राप्तीसोनारी र डुडुवा गाउँपालिकाका विभिन्न खोला तथा नदीबाट अवैधरुपमा ती पदार्थको उत्खनन भएको पाइएपछि त्यसलाई रोक्न सुरक्षाकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

उनका अनुसार राप्ती नदीबाट अवैधरूपमा बालुवा उत्खनन गरी आउँदै गरेका छ ट्र्याक्टरसहित नौ जनालाई पक्राउ गरी मुद्दा दर्ता गरिएको छ । विगतमा जरिवान तिराएर छाड्ने गरिएकामा पुनः उत्खनन कार्यमा प्रयोग भएको पाइएकाले अब मुद्दा चलाएर कारवाही गर्ने प्रक्रिया अघि बढाइएको छ ।

सो कार्यमा संलग्नलाई निरुत्साहित गर्न मुद्दा चलाउन थालिएको उनले बताए । ती दुई गाउँपालिका अन्तरगत रहेको राप्ती नदीलगायत दर्जनौं स्थानबाट डोजर प्रयोग गरी ती पदार्थको दैनिकरूपमा उत्खनन हुँदै आएको छ । बन्दाबन्दीमा समेत उत्खननसम्बन्धी व्यापक गुनासो आएपछि नियन्त्रण गर्न प्रशासनले चासो देखाएको हो ।

बन्दाबन्दीको समयमा समेत दिनरात नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गरेको पाइएपछि नियन्त्रणका लागि प्रशासनमा खबर गरिएको डुडुवा गाउँपालिका वडा नं ५ का वडाध्यक्ष परशुराम बुढाथोकीले बताए । सो गाउँपालिकासँगै जोडिएको छिमेकी राप्तीसोनारी गाउँपालिकाको वडा नं ३ खैरेनी र साइपुर नाका, वडा नं ४ को लालपुर, वडा नं ५ को आलिनगर र ललै नाकाबाट नदीजन्य पदार्थको अवैधरूपमा निकासी हुने गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार १५:१४