सूचनाको शक्ति - The Power Of Information

        

बाख्रापालनले आयआर्जनसँगै आत्मसम्मान

बाँके । बाँकेमा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । बाख्रापालन व्यवसायले आयआर्जन बढाउनुका साथै आत्मसम्मान पनि बढाएको छ । अहिले राप्तीसोनारीका महिलाहरु सफल बाख्रापालक कृषक बन्दै गएका छन् । ‘पहिले खसीबाख्रा पाल्छुभन्दा लाज लाग्थ्यो । आजभोली गर्व लाग्छ,’ राप्तीसोनारी २ मधुवाकी लिला भन्डारीले भनिन्, ‘एकपटक वाख्रापालन गरेकै कारण सम्मानित भए, सम्मानले अझै हौसला मिल्यो ।’

उनले गत बर्षको दशैंमा चार वटा खसी सहकारीमार्फत बेचेको बताइन् । तीन बर्षदेखि जननी सामाजिक उद्यमी सञ्जालमा आवद्ध भएर राप्तीसोनारीस्थित ढकेरीमा रहेको सामाजिक उद्यमी जिल्ला सहकारी संघको सहयोगमा भण्डारीले बाख्रापालन सुरु गरेकी छन् । एक दुई वटा बाख्रा पाल्ने सुरु गरेकी उनले सहकारीको सहयोगपछि अहिले उनको खोरमा २५ वटा खसीबोका छन् । सहकारीको सहयोगमा गाउँका धेरैले बाख्रापालन गरेका छन् ।

ढकेरीमा रहेको यो सहकारीमा मात्रै बाँके र बर्दियाका झण्डै सात हजार महिला आवद्ध छन् । उनीहरुले पनि बाख्रा, भैसी, बंगुरपालन गरेका छन् । घरधन्दासँगै बाख्रापालनले आम्दानी पनि हुन थालेपछि परिवार पाल्न सहज भएको उनीहरुको अनुभव छ । भण्डारीजस्तै राप्तीसोनारीकै ५० वर्षिय झलकुमारी वली पनि बाख्रापालनमा व्यस्त छिन् । अहिले उनीसँग १७ वटा बाख्रा छन्, यसअघि उनले २ वटा बाख्रा र ३ वटा खशी बेचिसकेकी छन् ।

उनले पहिलेदेखि नै बाख्रा पाल्दै आए पनि सहकारीमा आवद्ध भएपछि पाएको ज्ञानका कारण बाख्रापालन व्यवसायीक बनेको छ । यसैबाट घरखर्चका साथै छोराछोरीको पढाई खर्च टरेको उनले बताइन् । बाख्रापालनबाट आएको आम्दानीकै कारण छोराछोरीलाई स्नातक तह पढाउन सहज भएको उनको भनाई छ । सहकारीले महिलाहरुलाई तालिम पनि दिने गरेकाले बाख्रापालन गर्न थप उत्साहित छन् ।

‘पहिले पालेका खसी वेच्न दशै कुनुपर्ने अवस्था थियो तर अहिले चाहेको समयमा बेच्न पाइने भएकाले सहज छ,’ उनले भनिन्, ‘पहिले खसीबोका बेच्न समस्या थियो, अहिले सहकारीले नै बजारीकरण गरिदिन्छ, यसबाट सहज भएको छ ।’ बाख्रा पाल्न थालेपछि सहकारीले उन्नत जातका घाँसका वेर्ना सहयोग गरेपछि अहिले घाँस पनि घरमै रोपिएको छ । बाख्रापालनबाटै खुसी र आत्मासम्मान पाएकोमा उनी दङ्ग छिन् ।

पहिले यो पेशा गर्दा हेप्ने चलन अहिले हराउँदै गएको उनको अनुभव छ । सहकारीले महिला उद्यमीहरुलाई आवश्यक परेको समयमा पेस्की रकम पनि दिने गरेकाले बाख्रापालनमा थप सहज भएको उनको भनाई छ । सहकारीले खसीबोका खरीदका लागि ५ प्रकारको दररेट कायम गरेको छ । रु.४४० देखि रु.५१५ प्रतिकिलोसम्म गरी ५ वटा मुल्य निर्धारण गरिएको छ । यसले बाख्रापालक महिला उद्यमीले उत्पादनका आधारमा उचित मूल्य पाउने गरेका छन् ।

दुई बर्षअघि ५३ किलोको खसी पहिले रु.२५० प्रतिकेजीमा बेच्नुपरेको वलीले दुखेसो सुनाइन् । अहिले सहकारीले नै न्यूनतम मुल्य निर्धारण गरेर खरीद गर्ने भएपछि खसीबोकाको राम्रो मूल्य पाउने गरेकाले महिला उद्यमीहरु उत्साहित छन् । राप्तीसोनारी–२ कै ३० वर्षिया धनकुमारी खड्काको खोरमा पनि अहिले २५ वटा खसीबाख्रा छन् । सहकारीकै कारण खसीबोका बेच्न उनलाई पनि पहिलेको जस्तो समस्या छैन ।

गत वर्षमात्रै १० वटा वाख्रा बेचिसकेकी उनले यसबर्षको दशैंका ४ वटा खसी बिक्री गर्ने योजना रहेको बताइन् । यहाँका महिलाहरुले हेफर संस्थाको सहयोगमा व्यवस्थीत खोर निर्माण गरेका छन् । घरको दैनिकीसँगै महिलाहरुले बाख्रापालन गरेर आफैंले कमाउन थालेपछि आत्मासम्मान महसुस गरेको उनको भनाई छ । संघ अन्तरगत बाँकेका १५ र बर्दियाका ४ सहकारीमा आवद्ध ७ हजार बढि महिला उद्यमीले खसीबोका उत्पादन गर्दै आएका छन् ।

संघमा आवद्ध महिलाहरुले ढकेरीमा रहेको संकलन केन्द्रबाट खसीबोका विक्री गर्ने गरेको अध्यक्ष गंगा चन्द ठकुरीले जानकारी दिइन् । संघमा आवद्ध बाँकेका ११ हजार महिलाले खसीबोका, बंगुर, सुंगुर, कुखुरापालन लगायतका पशुपालन गर्दै आएका छन् । जसमध्ये ७ हजारले बाख्रापालन गरेका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि पशुपालन तर्फ आर्कषित गरिएको संघकी अध्यक्ष चन्दले बताइन् ।

१९ वटा सहकारीको छाता संगठनका रुपमा रहेको सामाजिक उद्यमी जिल्ला सहकारी संघले गत बर्षको दशैंतिहारमा झण्डै १० हजार खसीबोका बेचेको थियो । संघले चाडवाडको समयमा सहकारीमार्फत स्वस्थ खसीबोका खरीद गरेर विक्री गर्दै आइरहेको संघकी अध्यक्ष चन्दले बताइन् । संघमा आवद्ध महिलाहरुले उत्पादन गरेका खसीबोका विचौलियामा कम मूल्यमा विक्री नहुन भन्ने उद्देश्यले संघले नै मूल्य निर्धारण गरेर खरीद गर्ने उनले बताइन् ।

‘बाख्रापालनमा सबै गृहिणी महिला मात्रै हुनुहुन्छ,’ संघकी अध्यक्ष चन्दले भनिन्, ‘उहाँहरुले उत्पादन गरेका खसीबोका विचौलियाले सस्तो मूल्यमा नलैजाउन भनेर संघले खरीद गर्ने गरेको छ । यसबाट महिला उद्यमी ठगिनबाट जोगिनुभएको छ ।’ संघले महिला उद्यमीलाई उत्पादनका आधारमा प्रोत्साहन अनुदान दिने, बाख्रापालन व्यवसायमा आकर्षित गर्दै आधुनिक र व्यवसायीक तरीकाले बाख्रापालन गर्न ज्ञान र सीप दिँदै आएको उनको भनाई छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार ०८:५८