बाँके । सरकारी निकायको बेवास्ताका कारण नेपालगन्ज भन्सार कार्यालयमा लाखौं मुल्यका सवारीसाधन लिलाम नहुँदा थन्किएका छन् । मूल्यांकन गर्न ढिलाई भएका कारण बरामद भएका सवारीसाधनको लिलाम प्रक्रिया सुरु गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ । जसका कारण करोडौं राजस्व घाटा लागेको छ ।
लिलामी हुन नसक्दा सवारीसाधन जीर्ण अवस्थामा थन्किएका छन् । सुरक्षाकर्मीले करिब पाँच वर्ष अघिदेखि नियन्त्रणमा लिएका चोरीका सवारीसाधनहरु अझै लिलाम बिक्री हुन सकेका छैनन् । लिलाम हुन नसक्दा भन्सार कार्यालय परिसरमा थन्काइएका सवारीसाधनहरु गाडी पुरानो भएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।
चालु हालतमै रहेका राम्रै सवारीसाधन पनि थोत्रिएर काम नलाग्ने भएका छन् । राजस्व त गुमेको छ नै, सवारीसाधन पनि खेर गएका छन् । तर यी साधनको लिलाम गर्न भन्सार कार्यालयले सक्रियता देखाउन सकेको छैन । प्रक्रिया अघि नबढेकाले लिलाम हुनुपर्ने सवारी साधन घामपानीले जीर्ण भएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।
यातायात व्यवस्था कार्यालयको समन्वयमा मेकानिकल इन्जिनियरले बरामद सवारी साधनको मूल्यांकन र रकम तोकेपछि लिलाम हुने व्यवस्था छ । तर कर्मचारी अभावको कारण जनाउँदै मूल्यांकन कार्य गर्न ढिलाई भएको जनाइएको छ । समयमै लिलाम गरेको भए ती सवारी साधनबाट रु.दुई करोड राजस्व उठ्ने अनुमान भन्सार कार्यालयको छ ।
चार वर्षअघि मात्र चोरीका सवारीसाधन लिलाम गरी नेपालगन्ज भन्सारले रु.दुई करोड ४३ लाख ८६ हजार राजस्व संकलन गरेको थियो । यातायात कार्यालयले २० वर्ष पुराना गाडी दर्ता नगर्ने भएकाले त्यसैलाई आधार बनाएर उत्पादन वर्ष नखुलेको भन्दै नयाँ र चालु अवस्थाकै गाडीहरु लिलाम गर्न नसकेको प्रमूख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए ।
भारतीय र नेपाली नम्बर प्लेट लगाएर नियम विपरीत गुडेका मोटरसाइकल र जीप प्रहरीले बिभिन्न स्थानबाट नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको हो । भन्सार कार्यालय परिसरमा करिब २५० थान मोटरसाइकल र दुईवटा जीप रहेका छन् । जहाँ बुलेटजस्ता महंगा मोटरसाइकलसमेत रहेका छन् । लिलाम हुन नसक्दा ती सवारी जीर्ण बनेका छन् ।
मूल्यांकन र रकम तोकिएपछि लिलाम प्रक्रिया अघि बढाउने तयारी भए पनि बन्दाबन्दीका कारण रोकिएको प्रमूख भन्सार अधिकृत निरौलाले बताए । सवारीसाधनको मुल्याकंन गरी लिलाम विक्री प्रक्रिया नथालिङ्ग भएपछि भन्सार कार्यालय परिसरमै त्यसै थोत्रिएका छन् । उनका अनुसार धेरै सवारीका कागजपत्र नभेटिएकाले लिलामीमा जान कठिनाई भएको छ ।
उनले भने, ‘सबै प्रक्रिया अन्तिम चरणमा पुगेको छ । हामी त्यसलाई खुला गर्दैछौ ।’ उनले पुराना फाइलहरु खोजेर जीर्ण अवस्थामा रहेको सवारी साधनलाई सफासुग्घर गरेर मात्र प्रक्रिया अघि बढाउने तयारी गरिएको बताए । सम्पूर्ण कानूनी प्रक्रिया पुर्याएर लिलाम गर्ने तयारी भइरहेको जनाउँदै उनले यसले राजश्व संकलनमा वृद्धि हुने बताए ।
‘सबै काम सकिए जतिसक्यो छिटो लिलाम प्रक्रिया अगाडी बढाउने तयारी भएको छ,’ प्रमूख भन्सार अधिकृत निरौलाले भने । बरामद गरिएका सवारी थोत्रा भइसकेकाले सोंचेअनुरुप राजस्व संकलन भने नहुने देखिएको छ । लिलाम नभएकै कारण भन्सार कार्यालयमा सवारी साधन राख्ने ठाँउसमेत नभएपछि बरामद भएका सवारी प्रहरीले आफ्नै नियन्त्रणमा राखेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भन्सारमा राख्ने ठाउँ नभएपछि बरामद गरिएका सवारी साधनहरु प्रहरी कार्यालयमै राख्नुपर्ने बाध्यता छ ।
भन्सार कार्यालयभित्र राख्ने ठाउँ नहुँदा पक्राउ परेका चोरीका सवारी साधनले जिल्ला प्रहरी कार्यालयको प्राङ्गण समेत भरिएको छ । सवारीसाधन लिलाम मूल्याङ्कन समितिमा जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय, यातायात व्यवस्था कार्यालय, यान्त्रिक कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र उद्योग वाणिज्य संघ प्रतिनिधि रहने प्रावधान रहेको छ । उक्त समितिले लिलाम विक्रीमा चासो नदेखाउँदा बरामद भएका सवारी साधन लिलाम हुन नसकेको भन्सार कार्यालयले जनाएको छ ।
सत्यपाटी ।