सूचनाको शक्ति - The Power Of Information

        

आफ्नै छोराले गरे बुवाको हत्या

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–४, लामीडाँडाका ५६ बर्षिय बुवा पुलुराम थारुको हत्या भएको छ । पुलुरामको उनकै छोरा ३० बर्षिय सुकलालले गरेका हुन् । सोमबार साँझ छोराले बुवालाई कुटपिट गर्न लागेको थाहा पाएपछि गाउँलेहरु जम्मा भएर छुटाएका थिए । गाउँलेहरु फर्किएपछि छोराले बुवाको हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानले जनाएको छ ।

बावुछोराको झगडा छुट्ट्याएर घर पुगेका गाउँलेहरुले विहान मात्रै पुलुरामको हत्या भएको थाहा पाएका थिए । विहान घरमा छोरालाई मात्रै देखेपछि गाउँलेहरुले सोधीखोजी गर्दा पुलुराम मृत भेटिएका थिए । पुलुरामको घाँटीमा निलडाम, शरीरको विभिन्न भागमा चोटपटक लागेको अवस्थामा मृत भेटिएपछि प्रहरीले छोरा सुकलाललाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार बुवाको हत्या आफुले नगरेको र झुण्डिएर आत्महत्या गरेको छोरा सुकलालले बयान दिएका छन् । स्थानीयहरुका अनुसार बावुछोराबीच यसअघि पनि बिवाद हुने गरेको र छोराले पटक पटक बुवालाई कुटपिट गर्ने गरेको बताएका छन् । बावुछोराबीच सम्पत्तिका विषयमा लामो समयदेखि बिवाद चल्दै आएको बुझिएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलवार १६:०३