सूचनाको शक्ति - The Power Of Information

        

मनसुन सक्रिय : तीनदिन वर्षाको सम्भावना

काठमाडौं । मनसुन सक्रिय भएकाले आगामी तीनदिन देशको अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुन १२ (जेठ ३०) गते देशको पूर्वी भूभाग हुँदै नेपाल प्रवेश गरेको मनसुनी वायु सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

उनका आनुसार उक्त प्रणालीको प्रभाव आज देशको पूर्वी तथा मध्य भूभागसम्म पर्नेछ । भोलिबाट पश्चिमी भूभागमा पनि यसको असर रहने बताइएको छ । हाल प्रदेश ५ का केही भूभाग गण्डकी प्रदेश, वाग्मती प्रदेश, प्रदेश २ र प्रदेश १ का धेरैजसो स्थानमा वर्षा भइरहेको छ । महाशाखाले आगामी चौबीस घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

भारी वर्षाबाट ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । दिउँसो देशको प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

बिहीबार प्रदेश १, प्रदेश २ , वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ३.७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ६३.८, दिपालयमा २३.६, वीरेन्द्रनगरमा ११.७, नेपालगन्जमा ८.३ र धनकुटामा ४.९ मिलिमिटर वर्षा भएको छ । रासस

प्रकाशित मिति : २ असार २०७७, मंगलवार १०:५१