दाङ । भारतबाट आएर क्वारेन्टिनमा बसेका एक जोडीको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाटै विवाह भएको छ । दाङ घोराही उपमहानगरपालिका–१८ स्थित क्वारेन्टिनमा बसेका जोडीको परिवारको सहमतिमा विवाह गरिएको वडाध्यक्ष भरत अर्यालले जानकारी दिए ।
‘भारतबाट आएर क्वारेन्टिनमा बस्नुभएको थियो । माया–प्रेम र चिनजान भारतमै भएको रहेछ,’ उनले भने, ‘क्वारेन्टिनमा बसेको बेलामा घर परिवारको सल्लाहमा जोडीको विवाह भयो ।’ क्वारेन्टिन नजिक वर, पिपलको रुखमुनि वैवाहिक कार्यक्रम गरिएको र नव जोडी अहिले घरमा बसेका छन् ।
‘एक हप्तासम्म अलग अलग बस्न भनिएको छ,’ उनले भने, ‘क्वारेन्टिनमा बसेकामध्ये चार जनाको रिपोर्ट पोजेटिभ आएपछि उहाँहरुलाई एम्बुलेन्समार्फत आइसोलेशनमा लगियो भने रिपोर्ट नेगेटिभ आएको जोडी विवाह गरेर घर जानुभयो ।’ विवाह बन्धमा बाँधिएका पुरुष २३ वर्षका र महिला २१ वर्षका हुन् ।
सत्यपाटी ।