काठमाडौं । धेरैलाई लाग्न सक्छ, लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्र अनकन्टार होला । भारतले वर्षौंदेखि कब्जा गरेको उक्त नेपाली भूमि खासमा साँच्चै मनमोहक छ । यताका कसैले टेक्न, देख्न नपाइरहेको उक्त भूमिबारे धेरैलाई कौतुहल बढ्दो छ । प्राकृतिक सुन्दरताको छुट्टै मोहक छरिरहेछ पराइले ओगटेको यो भागले । २०५८ सालमा दार्चुलाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक सीमा विवाद नियाल्न कालापानीसम्म गए ।
ठूलै अनुरोध गरेर उनी त गए, तर सुरक्षाकर्मी लैजान पाएनन् । भयंकर खानतलासीपछि गएका लेखक सम्झिन्छन्, ‘सैनिक बलमै भारतले त्यो इलाका कब्जा गरेको गर्यै छ ।’ उत्तर चीनको सिमानामा करिब ७० किलोमिटर हिमाली पर्वत शृंखला छ । त्यसलाई लिम्पियाधुरा पर्वत शृंखला भनिन्छ । त्यसको पश्चिमको अग्लो चुचुरो (लिम्पियाधुरा) बाट काली नदी आउँछ । लिम्पियाधुरा ५५ सय मिटर उचाइमा छ । लिपुलेक भन्ज्याङ (छाङला) ५ हजार ९८ मिटरमा छ ।
छाङरु र तिङकरको पश्चिमी मोहडामा ओम हिमाल छ । त्यो विशाल पर्वत कालापानी लिपुपास बीचबाट पूर्वी मोहडामा पर्छ । यसको बीचमा हिउँले नै ओम लेखिएको छ । भारतले ठूलो सख्यामा अर्ध सैनिक बल राखेको कालापानी भने समथर छ । भारतीय अर्धसैनिक बाह्रैमहिना त्यहाँ बस्छन् । भारतीय पक्षले ब्यारेकभन्दा दक्षिणमा नक्कली काली मन्दिर बनाएको छ । काली नदीको मन्दिरबाट उम्रिएको खोल्सोलाई काली नदी भारतले भन्छ ।
त्यहाँ बंकर छ । हेलिकप्टर बस्ने ठाउँ छ । जाडोमा बस्न सक्ने गरी त्यो ब्यारेक बनाइएको छ । कालापानीको उत्तरमा लिपुलेकतिर जाँदा नाभीडाङ आउँछ । त्यहाँ पनि भारतीय सेनाको क्याम्प छ । गुन्जी र नाबी दुवै स्थानमा भारती सेना छ । काली नदीको किरानैकिनार उत्तर(पश्चिम कुटी गाउँ छ । नेपाल भारतको सिमाना काली नदी छ । त्यसको उदम लिम्पियाधुरा हो । कालीको उद्म लिम्पियाधुरा मानेर नेपालले हालै नयाँ नक्सा जारी गरेको छ ।
नेपालले संविधान संशोधनमार्फत बल्ल नक्सामा समेटेको यो इलाकाको भौगलिक अवस्था कस्तो छ ? त्यहाँ कुन समुदाय बस्छन् ? यी सबै चासोका विषय हुन् । नेपालको पश्चिमोत्तर सीमा क्षेत्रमा रहेको यो भूभाग दार्चुला जिल्लाको व्यास गाउँपालिकामा पर्छ । यो भूभाग भारतले १४० वर्षदेखि अतिक्रमण गर्दै आएको छ । रतन भण्डारीको पुस्तक ‘अतिक्रमणको चपेटामा लिम्पियाधुरा–लिपुलेक’ मा उल्लेख गरिएअनुसार महाकालीको सिरानीमा अवस्थित १२ व्यास सन् १८१६ को सुगौली सन्धिअघि नेपालको भूभाग थियो ।
१२ वटा गाउँ रहेकोले यस क्षेत्रलाई त्यतिबेला १२ ब्यास भनिन्थ्यो । सुगौली सन्धिले १२ व्यासलाई नेपाल र भारत दुईतिर विभाजित गर्यो । व्यास क्षेत्र विभाजन हुँदा महाकालीवारिका कुटी, नावी, गुन्जी, छाँगरु, ऋषिगाउँ, तिङकर लगायत ६ गाउँ नेपालतिर र बाँकी ६ गाउँ भारततिर परेका थिए । यो सौका समुदायको थाकथलो हो । सौका समुदाय सीमान्तकृत जाति हो । यस जातिलाई क्षेत्री बाहुनले ‘व्यासी सौका’ तथा तिब्बतीले ‘ज्याङ्बा’ भन्छन् ।
व्यासी समुदायको मौलिक परम्परा र भेषभूषा छ । व्यासी समुदायमा भगवान् शिव र व्यासीऋषिको पूजाआजा गर्ने चलन छ । व्यासी समुदायले व्यास ऋषिलाई कुलगुरु र शिवलाई कुलदेवता मान्छन् । व्यासको जन्मजयन्तीका दिन काली नदीको किरानामा रहेको मनिलास्थित व्यास मन्दिरमा धूमधामसँग पूजा गर्ने चलन उनीहरूको छ । उनीहरूको मुख्य पेसा व्यापार हो । तिब्बतको ताक्लाकोट, भारतको धार्चुला, पिथौरागढ, झुलाभाट, दार्चुला सदरमुकाम, बझाङको चैनपुर उनीहरूका व्यापारिक केन्द्र हुन् ।
विगतमा उत्तरी क्षेत्रमा व्यापार गर्ने ठूला व्यापारी सौका रहेको ऐतिहासिक तथ्यले देखाउँछ । त्यो भूभागमा ६ महिनामात्रै मानिसको बसोबास हुन्छ । हिउँदमा जाडो छल्न तल्लो भूभागमा सर्छन् । छाङरु र तिंकरका सौका दार्चुलाको सदरमुकाम आउँछन् । अतिक्रमित भूमि कालीनदी पूर्व र लिपुखोला पश्चिममा तीन गाउँकुटी, नावी र गुञ्जीका सौका भने भारतको धार्चुलाका भूमि जान्छन् । अतिक्रमित भूमिमा करिब ३ हजारको बसोबास रहेको पत्रकार महासंघ, दार्चुलाका अध्यक्ष शंकरसिंह धामी बताउँछन् ।
‘यथार्थ तथ्यांक त छैन् तर ३ हजार जति छन् भन्ने ठानिन्छ’, उनले भने । गर्मी सुरु भएपछि उनीहरू व्यास फर्कन्छन् । यसरी बसाइँ सर्नुलाई ‘कुन्चा’ जानु भन्ने गरिन्छ । लिम्पियाधुरा अतिक्रमणबारे पुस्तक लेखेका अध्येता भण्डारी प्राचीन लिखतमा व्यासी सौकाको थर नभेटिएको बताउँछन् । राणाकालीन लालमोहर, इस्तिहार र सनदमा व्यासीलाई बूढी क्षेत्री भनिएको उनले बताए ।
#अन्नपूर्ण पोस्ट
सुरेन्द्र काफ्ले ।